७ साउन, काठमाडौं । दोलखा र रामेछाप जोड्ने खिम्ति खोलामा रहेको झोलुङ्गे पुलबाट बुधबार एक वृद्ध हामफालेका छन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक रेशम बोहराका अनुसार दिउँसो १ बजेको समयमा जिरी नगरपालिका-२ रजनटोल बस्ने ६० वर्षीय लालबहादुर बस्नेत झोलुङ्गे पुलबाट हामफालेका हुन् ।
झोलुङ्गेपुलबाट हामफालेको सूचना पाएलगत्तै खटिएको प्रहरीको टोलीले झोलुङ्गे पुल भन्दा करिब २ किमि दक्षिणतर्फ रामेछापको गोकुलगंगा गाउँपालिका-१ ओलानेस्थित खिम्ति खोलाको भंगालोको बीचमा तैरिरहेको अवस्थामा उनको शव फेला परेको बोहराले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानको क्रममा वृद्धले मदिरा सेवनपछि पुलबाट हामफालेको हुन सक्ने भएपनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बोहराले बताए । पुलबाट हामफालेको झण्डे डेढ घण्टापछि उद्धारमा खटिएको टोलीले नदीबाट उनको शव निकालेको र पोष्टमार्टमका लागि शवलाई जिरी अस्पताल पठाइएको बोहोराले बताए ।
प्रतिक्रिया दिनुहोस