धनुषा — जनकपुरस्थित रामजानकी अस्पतालमा फरक समूहकाे रगत चढाउँदा सुत्केरी महिलाकाे मृत्यु भएकाे छ । महोत्तरी गौशाला नगरपालिका–११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए ।अस्पताल र रेडक्रसको लापरबाहीले सुत्केरीको ज्यान गएको बताइएको छ । ‘ओ पोजिटिभ’ ब्लड ग्रपुको साटो ‘बी पोजिटिभ’ ब्लड चढाउँदा बिहीबार राति गंगादेवीको मृत्यु भएको हो ।
व्यथा लागेपछि बिहीबार अपराह्न ४ बजे उनलाई अस्पतालमा भर्ना गरिएको थियो । अप्रेसनमार्फत गंगादेवीले छोरी जन्माएकी थिइन् । पछि शरीरमा रगत अभाव भएको थियो । अस्पतालले सुत्केरीको रगत स्याम्पलसहित रगत लिन आफन्तलाई रेडक्रसमा पठाएको थियो ।
रेडक्रसले दिएको दुईपोका रगत चढाएपछि सुत्केरी झनै सिकिस्त हुँदा चेकजाँच गरेपछि ‘ओ पोजिटिभ’को ठाउँमा ‘बी पोजेटिभ’ रगत चढेको पत्ता लागेको थियो । त्यसको केही बेरमा सुत्केरीको मृत्यु भएको मृतकका श्रीमान राजकिशोर महतोले बताए ।
अस्पतालले भने अनुसार नै स्याम्पल लिएर रेडक्रसबाट रगत ल्याएको र त्यहीमध्ये एउटा पोका ‘बी पोजेटिभ’ रगत अस्पतालले चढाएकोले श्रीमतीको मृत्यु भएको भन्दै उनले अस्पताल र रेडक्रसलाई कारबाहीको माग गरेका छन् । दोषी अस्पताल र रेडक्रसलाई कारबाही र क्षतिपूर्ति नदिएसम्म श्रीमतीको शव नठाउने उनले बताए ।
यता अस्पताल प्रशासनले रेडक्रसको लापरबाहीले सुत्केरीको शरीरमा ‘ओ पोजिटिभ’ को ठाउँमा ‘बी पोजिटिभ’ चढेको दाबी गरेको छ । अस्पतालका सञ्चालक गणेश साहले अस्पतालले पठाएको स्याम्पल अनुसार रेडक्रसले रगत दिएको र त्यही चढाएकाले यसमा अस्पतालको कुनै लापरबाही नभएको दाबी गरेका छन् । महिलाकाे मृत्युपछि उपचारमा संलग्न चिकित्सक र अन्य कर्मचारीलाई जिल्ला प्रहरीमा ल्याइएकाे र घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरी उपरीक्षक बस्नेतले बताए ।
प्रतिक्रिया दिनुहोस