२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

जन्म दिनको अवसरमा मेयरबाट विद्यार्थीलाई सहयोग


३२६० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र १०, बुधबार मा प्रकाशित ४ साल अघि
  • १० भदौ २०७७
    नमोबुद्ध । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका काभ्रेका नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले गरिब, जेहेन्दार तथा असहाय विद्यार्थीका लागि आर्थिक सहयोग गर्दै आफ्नो जन्मदिन मनाएका छन् ।

    तिमल्सिनाले आफ्नो जन्मदिनको अबसरमा आज बुधबार १ लाख २ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । जसमध्ये उनले यसअघि नमोबुद्ध १० की १० बर्षीया सविना लामाका लागि यो बर्ष लाग्ने पढाई खर्चवापतको ७ हजार रुपैयाँ प्रदान गरेकाछन् ।

    तिमल्सिनाले लामाको सबै तहको शिक्षाका लागि अभिभावकत्व ग्रहण गरेका थिए । यसैगरी नमोबुद्ध ४ मा रहेको जनक माविबाट अघिल्लो बर्षको एसईईमा सर्वोत्कृष्ट अंक ल्याएका नमोबुद्ध–२ का दिपेश गौतम र नमोबुद्ध ४ का शिवराज चिमौरियालाई यस बर्षको शैक्षिक खर्चवापतको ६५ हजार रुपैयाँ प्रदान गरेकाछन् । गौतम र चिमौरिया हाल कक्षा ११ मा अध्ययनरत छन् । दुबैजनालाई अघिल्लो बर्षको जन्मदिनको अवसरमा पनि नगर प्रमुख तिमल्सिनाले एक बर्षको शैक्षिक शुल्कवापतको ६५ हजार रुपैयाँ प्रदान गरिसकेका छन् ।

    यस्तै वडा नंवर १० का सुशील गौतमलाई शैक्षिक शुल्कवापतको ३० हजार रुपैयाँ बुधबार नै प्रदान गरिएको छ । शैक्षिक खर्चवापत नै गौतमलाई यसअघि नगरप्रमुख तिमल्सिनाले ३५ हजार रुपैयाँ सहयोग गरेका थिए । उक्त रकम जनक मावि मार्फत बुझाउने व्यवस्था गरिएको छ । आर्थिक अभावका कारण कोही पनि विद्यार्थी शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको नगरप्रमुख तिमल्सिनाले बताए ।

    नगरपालिकाबाट प्राप्त हुने सेवा सुविधावापतको रकमलाई सामाजिक क्षेत्रमा खर्च गरेका नगरप्रमुख तिमल्सिनाले आफ्नो जन्मदिनकै अवसरमा नमोबुद्ध नगरपालिका ४ मा रहेको दलित सामूदायिक भवन निर्माणका लागि २५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेका छन् । यस्तै यसअघि प्रतिवद्धता जनाएअनुसार नमोबुद्ध ५ कानपुरमा जिर्णोद्धार भइरहेको रक्तकाली मन्दिरको गजुर स्थापनाका लागि २३ हजार १ सय ११ रुपैयाँ जन्मदिनकै अवसरमा नगर प्रमुख तिमल्सिनाले प्रदान गरेका छन् ।

    नगरप्रमुख तिमल्सिनाले यसअघि कोरोना प्रभावितहरुको सहयोगका लागि नगरपालिको स्थापना गरेको प्रकोप व्यवस्थापन विशेष कोषमा व्यक्तिगततर्फबाट १ लाख ५ हजार ५ सय ५५ र १ महिनाको सेवा सुविधावापतको ३५ हजार सहित १ लाख ४० हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका थिए भने नमोबुद्ध नगरपालिका ३ मा रहेको ज्ञान विज्ञान गीता पाठशालाका लागि ५० हजार रुपैयाँ सहयोग गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार