३० कात्तिक, वीरगञ्ज । पर्सामा घरमा बालिएको दियोबाट आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार राति भएको आगलागीमा बहुदरमाई नगरपालिका – ८ रामनगरी बस्ने मनबोध साहकी छोरी १५ वर्षिया मनाकुमारी साहको मृत्यु भएको हो ।
लक्ष्मीपूजापछि घरमा बालिएको दियोबाट आगालागी भएको थियोे । आगलागी हुँदा घरमै सुतिरहेकी उनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरका अन्य सदस्यले भने भागेर ज्यान जोगाएका थिए ।
आगलागीबाट फुसको घरमा रहेको लत्ताकपडा, खाद्यान्नलगायतका सामग्रीहरु जलेर नष्ट भएको छ । करिब ५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । शव पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस