१४ फागुन, सप्तरी । तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालेलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलाशले निरालेलाई १८ वर्ष कैद सजाय र १० हजार क्षतिपूर्ति भराउने फैसला गरेको सप्तरी जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।
पीडितका अनुसार कामबाट पैदल घर फर्किरहेका बेला सामान्य चिनजानका आरोपितले नास्ता र नशालु पदार्थ मिसाइएको फ्रुटी खान दिएर बेहोस बनाई ०७६ भदौ १२ गते राति राजविराज नगरपालिका–४ स्थित बैष्णव काली मन्दिर नजिकको कल्टु दासको पोखरी किनारमा लगेर बलात्कार गरे ।
आरोपितले भदौ १२ गते राति १२ बजे घर नजिकै ल्याएर छाडेपछि अर्धचेत अवस्थामा बालिकालाई घर अगाडि फेला पारेको भन्दै पीडितकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् । विक्षिप्तावस्थामा रहेकी बालिकाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मनोविमर्श एवं स्वास्थ्य उपचार भएको थियो । जिल्ला प्रहरी कार्यालयले आरोपितलाई ०७६ भदौ १३ गते दिउँसो पक्राउ गरेपछि पीडितले पहिचान गरेकी थिइन् । जिल्ला अदालतको ०७६ असोज ५ गतेको आदेशानुसार आरोपित राजविराज कारागारमा थुनामा छन् ।
प्रतिक्रिया दिनुहोस