२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

कृषकको खेतबारीमा जनप्रतीनिधिहरु


३२२१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ फागुन २२, शनिबार मा प्रकाशित ३ साल अघि
  • तेमाल । एसिया एडको आर्थिक सहयोगमा सिप्रेड संस्थाले जिल्लाको तेमाल गाउँपालिका क्षेत्रमा लागु गरेको स्पिड फर लाइफ परियोजनाको प्रभावकारितामाथि स्थानीय जनप्रतिनिधिहरुले अवलोकन गरेका छन् । बिहीबार पालिका अध्यक्ष सलाम सीँ तामाङ, उपाध्यक्ष दुर्गामाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेल, वडाध्यक्ष द्वय मानबहादुर श्रेष्ठ, तिमाल सिं तामाङ लगायतको टोलीले परियोजनाको प्रत्यक्ष अवलोकन गरेका हुन् ।

    ‘तपाईँहरूको कामप्रति खुसी छु, यसमा पालिका पनि साथमा छ ।’ पालिका अध्यक्ष तामाङले भने, ‘तेमालको समृद्धिका लागि कृषि क्षेत्रको व्यवसायीकरणमा सबैको सहकार्य आवश्यक हुन्छ ।’ पालिका अध्यक्ष तामाङले सबै बजेट वडामा पठाए पनि वडा कार्यालयहरूले कृषि क्षेत्रलाई सोचेजस्तो सम्बोधन गर्न नसकेको औँल्याए । आगामी आर्थिक वर्षमा कृषि क्षेत्रलाई नीति, कार्यक्रम र बजेटमार्फत गरिने सम्बोधनमा स्पिड फर लाइफ परियोजनाको उदाहरणीय कामले ध्यानाकर्षणको काम गर्ने उनले बताए ।

    पालिका उपाध्यक्ष दुर्गामाया तामाङले आफूहरू निर्वाचित भएको वर्षदेखी नै केही न केही रूपमा कृषि क्षेत्रमा जोड दिने गरेको दाबी गरे । ‘जहाँ सम्भावना छ,जहाँका किसानको प्रमुख आम्दानीको स्रोत कृषि बन्न सक्छ, तिनै ठाउँहरूलाई लक्षित गरी हामीले कृषि कार्यक्रम र योजनाहरू गर्दै आएका छौँ ।” उनले भने, ‘सिप्रेडका प्रतिनिधिहरू पालिकामा आउनुभयो,हामीले बुद्धिमत्तापूर्ण तवरले नै तेमाल वडा नं. १ र २ लाई सिफारिस गर्‍यौँ किनकि कृषि उत्पादनका लागि तेमालका अन्य ठाउँको तुलनामा उर्वर माटो र सिँचाइको उपलब्धता यही ठाउँमा छ,हाम्रो सिफारिसमा यो ठाउँ पार्नु पनि महत्त्वपूर्ण सहयोग नै हो ।’

    पालिकाका प्रमुख प्रशासकीय अधिकृत कुइँकेलले इच्छाशक्ति भएका युवालाई गतिलो उदाहरण कृषि क्षेत्रबाटै मिल्ने बताए ।

    अनुगमनका क्रममा तेमाल २ का जयमान तामाङले खुर्सानीको बिउ बेचेरै ६ महिनामा ३ लाख कमाएको अनुभव सुनाए । यो उदाहरणबाटै थुप्रै युवाले स्वदेशमै परिश्रम गर्न ऊर्जा प्राप्त गर्न सकिने उनको धारणा थियो । युवाको कृषि कर्मले पालिकालाई उत्साहित बनाएको उल्लेख गर्दै उनले पालिका सक्दो सहयोगको पक्षमै रहेको जानकारी दिए । स्थानीय कृषक जयमानले पालिकाले पाइप किन्न सहयोग गरे राम्रो हुने अपेक्षा गरे ।

    वडा नं. १ का वडाध्यक्ष मान बहादुर श्रेष्ठले सिप्रेडको परियोजनाले तेमालमै सकारात्मक सन्देश प्रवाह गरेको तर्क गरे । स्थानीय स्रोत साधनको परिचालन गरी कृषि क्षेत्रलाई मजबुत बनाउन किसानमा यसले थप हौसला जगाएको उनको भनाई छ । परियोजनाले बिउ उत्पादनका साथै तरकारी तथा मसला बाली उत्पादनका लागि किसानलाई आवश्यक ज्ञान र सीपको विकास गरिदिँदा कृषि क्षेत्रले व्यवसायीक रूप लिने उनको विश्वास छ ।

    वडा नं.२ चुखाका वडाध्यक्ष तिमाल सीँ तामाङले कृषि क्षेत्रलाई वडाले कहिल्यै नभुलेको बताए । वडा, पालिका तथा विभिन्न संघसंस्थासँग सहकार्य गरी तालिम, कृषि सामाग्री वितरण लगायतका कामहरू गर्दै आएको उनले बताए । एक दशक अगाडी पनि आफ्नो क्षेत्रमा सिप्रेडले बिउ उत्पादन र बजारीकरणको परियोजना सञ्चालन गरेको स्मरण गर्दै उनले सिप्रेड फेरि फर्किएकोमा खुसी व्यक्त गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार