काभ्रे । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) काभ्रेका १० जना जिल्ला समिति सदस्यहरूलाई साधारण सदस्य समेत नरहनेगरि कारबाही गरेको छ । पार्टीको आज (मङ्गलवार) बसेको जिल्ला कमिटीको बैठकले उनीहरूलाई साधारण सदस्य समेत नरहने गरी कारबाहीको लागि प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।
पार्टी अनुशासन उल्लङ्घन गरेको र पार्टी विरोधी गतिविधिमा संलग्न रहेको भन्दै कारबाही गरिएको बैठकपछि प्रतिक्रिया दिँदै माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य इन्द्रबहादुर थिङ (छिन्ताङ)ले बताए ।
छिन्ताङका अनुसार कारबाहीमा पर्नेहरूमा रिता ढकाल, विनोद गौतम, राजकुमार श्रेष्ठ, हरि खतिवडा, सुन्दर खड्का, रूप योञ्जन, सागर मिजार, रुक्मिणी राना मगर, नक्कुल पराजुली र कुलदेव अस्ता नि मगर रहेका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिचमा एकता भएपछि नेकपा पुटको अवस्थामा पुग्दा केपी ओली समूहमा उनीहरू खुलेर लागेका थिए । ओलीको कदमको समर्थन गर्दै उनीहरू सक्रिया भएर लागेका थिए ।
सर्वोच्च अदालतले एकता भएका एमाले र माओवादी केन्द्रलाई पूर्ववत् रूपमै फर्काएपछि माओवादी केन्द्रबाट जिल्ला सदस्य बनेका ती १० जना जिल्ला सदस्यहरू एमाले मै रहेर राजनीतिक गतिविधि गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस