१२ चैत, काठमाडौं । काठमाडौंको काँडाघारीमा प्रेमिकालाई मट्टितेल छर्केर जलाउने प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २१ वर्षीय सुरज श्रेष्ठ छन् ।
काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार ‘दिदीको कोठामा भेटेको बेला सुरजले प्रेमिकालाई मट्टितेल हालेर जलाउने प्रयास गरेको पीडितको बयान छ’, उनले भने, ‘घटनामा दुवै जना घाइते भएपछि कीर्तिपुर अस्पतालमा उपचार जारी छ ।’
पीडितले प्रहरीसमक्ष जाहेरी दिइसकेका भने छैनन् । एसएसपी सिंह भन्छन्, ‘दुवै उपचारका क्रममा भएकाले केही ढिलाइ भयो, भोलि दिने भन्नुभएको छ ।’
प्रहरीका अनुसार पीडित किशोरीले सुरुवातमा स्टोभबाट मट्टितेल पोखिएर दुर्घटना भएको दाबी गर्दै आएकी थिइन् । तर, परामर्शपछि प्रेमीले आगो लगाएको बताएकी हुन् ।
उनीहरु दुवैजना लागूऔषध दुर्व्यसनी भएको प्रहरीको दावी छ । उनीहरुको पछिल्लो समय पटकपटक झगडा हुने गरेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस