काठमाडौँ । काभ्रे जिल्लाको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बालाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सम्मानित भएका छन् । संविधान दिवस (राष्ट्रिय दिवस) को उपलक्ष्यमा आज अध्यक्ष जिम्बा प्रबल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा सम्मानित भएका हुन् ।
देशकै कान्छो पालिका अध्यक्ष समेत रहेको जिम्वाले नेपाल राष्ट्रको गौरव एवं जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै विभूषित गरिएको जनाएको छ । उनले प्राप्त गरेको विभूषण आधार पत्रमा भनिएको छ, ‘नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा तपाईँबाट भएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान स्वरूप प्रबल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा विभूषित गरिएको छ । मानपदवीको गरिमा अक्षुण्ण राख्दै नेपाल र नेपाली जनताको गौरव एवं श्रीवृद्धिमा तपाईँलाई थप सफलता प्राप्त हुनेछ ।’
नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यक्ष जिम्बा विभूषित भएका थिए ।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७६ का अवसरमा २०७६ भदौ ३१ को निर्णयबाट विभूषण प्रदानका लागि ४५० लाई घोषणा गरिएकामा कोभिड–१९ का कारण कार्यक्रम हुन नसकेका कारण सुशोभन हुन नसकेकालाई पनि आजै सुशोभन गरिएको छ । आज बाँकी रहेकालाई आउँदो वैशाख १ गते सुशोभन गरिनेछ ।
विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा गृहमन्त्री रामबहादुर थापा, तोकिएका विज्ञ र गृह सचिव महेश्वर न्यौपाने सदस्यसचिव रहेको विभूषण समितिको बैठकले उक्त सिफारिस गरेको हो । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार समितिमा प्रा. डा. मिना वैद्य, प्रा. डा. इन्द्रजीत राई, कलाकार हरिहर शर्मा, इन्जिनियर काशेन्द्रप्रसाद यादव, उपरथी विनोदकुमार श्रेष्ठ सदस्य रहेका थिए ।
प्रतिक्रिया दिनुहोस