२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

आज नेकपाको स्थापना दिवस (स्थापनाकालदेखी हाल सम्मको अवस्था)


१९८१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख ९, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ९ वैशाख, काठमाडौं । टुटफुटबाट गुज्रिंदै आएका नेपालका कम्युनिस्ट पार्टीहरुले स्थापना दिवस मनाउँदै छन् । ७२ वर्षअघि आजकै दिन भारतको कलकत्तामा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो ।

    नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने अन्य संस्थापक नेताहरुमा निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ थिए । यद्यपि यो पार्टी स्थापनासँगै मनमोहन अधिकारी, तुलसीलाल अमात्य, केशरजंग रायमाझी लगायतका नेताहरु पनि जोडिएका थिए ।

    नेपालमा जहानियाँ राणा शासन कायम रहेका बेला भूमिगत रुपमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले सामान्तवाद, दलाल–नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य राखेको थियो ।

    कम्युनिस्ट पार्टीका दोस्रो महासचिव मनमोहन अधिकारी बने भने तेस्रो महासचिव तुलसीलाल अमात्य बने । यसबीचमा कांग्रेस नेतृत्वमा रहेको सरकारले २०११ सालमा नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिवन्ध समेत लगाएको थियो । २०१५ सालको पहिलो आम निर्वाचनमा कम्युनिस्ट पार्टीले ४ सिट जितेको थियो ।

    जननिर्वाचित सरकार अपदस्थ गरेर पञ्चायती व्यवस्था लागु गरेपछि नेपाल कम्युनिस्ट पार्टी पुनः प्रतिबन्धित भयो । त्यसक्रममा केशरजंग रायमाझी पक्षले पञ्चायती व्यवस्थाको समर्थन गरेपछि कम्युनिस्ट पार्टी बिभाजन भयो ।

    बिभाजनका बीच झापामा तत्कालीन झापाली क्रान्तिकारीले ‘वर्गशत्रु सफाया’ अभियान चलाउँदै झापा क्रान्ति मार्फत नेकपा माले र हालको एमालेको रुप लिए । पुष्पलाल, मनमोहनहरुको समूह अन्ततः एमालेको धारमा २०४७ पछि एकीकृत भयो ।

    मोहनविक्रम सिंह, निर्मल लामाहरुले नेतृत्व गरेका बिभिन्न समूह नेकपा चौम, नेकपा मोटो मशाल, नेकपा पातलो मसाल, नेकपा एकताकेन्द्र हुँदै हालको माओवादी धारा बन्यो । यद्यपि मोहनविक्रम सिंह भने अहिले पनि पातलो मसालको नेतृत्व गरिरहेका छन् ।

    २०१५ सालमा ४ सिट जितेर अस्तित्वमा आएको नेपाल कम्युनिस्ट पार्टी पञ्चायतकालमा बिभिन्न चिरामा बिभाजित भएको थियो । २०४६ सालको जनआन्दोलनपछि तत्कालीन माले र मार्क्सवादी मिलेर बनेको एमाले संसदमा ६९ सिटसहित सशक्त प्रतिपक्ष बनेको थियो भने तत्कालीन जनमोर्चा र हालको माओवादी ९ सिटसहित तेस्रो दल बन्यो ।

    २०५२ सालमा माओवादीले जनयुद्ध शुरु गरेपछि उसले संसदीय राजनीति परित्याग गर्यो । माओवादीले २०५१ सालमा आम निर्वाचन बहिस्कार गर्दा एमाले ८८ सिटसहित पहिलो पार्टी बनेर दक्षिण एशियामै पहिलो कम्युनिस्ट एकल सरकार गठन गरेको थियो ।

    २०५४ सालमा एमाले बिभाजित भएपछि २०५६ सालको आमनिर्वाचनमा ७० सिटसहित एमाले पुनः दोस्रो दल बन्यो । ऐतिहासिक जनआन्दोलनपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादी प्रत्यक्षतर्फ बहुमतसहित सबैभन्दा ठूलो दल बन्यो ।

    २०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमाले दोस्रो र माओवादी तेस्रो दल बने । यसबीचमा नेपाल कम्युनिस्ट पार्टीबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, बाबुराम भट्टराई र केपी शर्मा ओली प्रधानमन्त्री बने ।२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन बनाएर लडेका दुई कम्युनिस्ट पार्टी एमाले र माओवादीले करीव दुई तिहाइ बहुमत सिट जित्न सफल भए । यो नेपाल कम्युनिस्ट पार्टी स्थापनाको करीव ७० वर्षकै इतिहासमै सबैभन्दा ठूलो सफलता थियो ।

    चुनावी गठबन्धनपछि २०७५ जेठ ३ गते एमाले र माओवादीबीच पार्टी एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भयो । नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला सर्वोच्च अदालतले यी दुई पार्टी बीचको एकता बदर गरिदिएपछि अहिले एमाले र माओवादी पुरानै अवस्थामा फर्किएका छन् । सरकारको नेतृत्व गर्दै आएको नेकपा एमाले पनि विभाजनको संघारमा पुगेको छ । आन्तरिक विवादले कम्युनिस्ट पार्टीहरु टुक्राटुक्रामा विभाजित हुँदा कार्यकर्ताहरु निराशमात्र बनेका छैनन् नेताहरुप्रति पनि वितृष्णा पनि बढेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार