२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

रुप फेर्दै सोती खोला


२२२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख ११, शनिबार मा प्रकाशित ३ साल अघि
  • भकुण्डेबेशी–केही दशक अघिसम्म भकुण्डे क्षेत्रको सिञ्चाईको मुख्य आधारको रुपमा रहे पनि पछिल्ला बर्ष अस्तित्वको खोजीमा रहेको सोती खोलाले अब भने आफ्नो रुप फेर्ने भएको छ । यससँगै सोती खोलाको भरमा रहेका भकुण्डे फाँटका हजारौं रोपनी जग्गा फेरि सिञ्चाई सुविधासहित हराभरा हुने भएका छन् ।
    नमोबुद्ध नगरपालिकाले सोती खोला जलाधार व्यवस्थापन कार्यक्रम सुरु गरेसँगै सोतीले आफ्नो रुप फेर्न लागेको हो । यो कार्यक्रमअन्तर्गत अहिले पहिलो चरणमा नमोबुद्ध नगरपालिका २ मा झण्डै आधा किलोमिटर क्षेत्रमा खोला संरक्षणको काम सम्पन्न भइसकेको छ । वन तथा वातारण मन्त्रालयको जलवायु नमुना  कार्यक्रमअन्तर्गत आधा किलोमिटर क्षेत्रमा सोती खोला संरक्षणका लागि दायाँवायाँ पर्खाल लगाउने काम सकिएको छ ।

    बहुबर्षे योजनामा परेको यो आयोजना सम्पन्न भएपछि सोती खोलाबाट भकुण्डे र आसपासका किसानले पर्याप्तमात्रामा सिञ्चाई सुविधा उपभोग गर्न पाउनेछन् । नमोबुद्ध नगरपालिकाले सोती खोला संरक्षण र व्यवस्थापनका लागि २०३४ सालको नापीअनुसार खोलाको सीमांकन गरेर काम सुरु गरेको थियो । पहिलो चरणमा खोलाको संरक्षण गर्ने, बीचबीचमा पोखरी निर्माण गर्ने, खोलाको दुबैतर्फ वृक्षारोपण गर्ने र सोती कोरिडोर निर्माण गर्ने नगरपालिकाको लक्ष्य रहेको छ । कुनैबेला आफूहरुले सिञ्चाईका लागि सोती खोलाको पानी उपभोग गर्ने गरेको सम्झँदै नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले फेरि पहिलेकै अवस्थामा सोतीमा पानीको व्यवस्थापन गर्न र वातावरण संरक्षणका लागि कृषि क्षेत्रको प्रवद्र्धनका लागि यो कार्यक्रम सुरु गरिएको बताए । ‘हामी सानो छुँदा सोती खोलामा हिउँदमा पनि पानीको अभाव थिएन, बीचबीचमा पोखरीसमेत थिए’, शर्माले भने, ‘अहिले सिञ्चाईको अभावका कारण बर्षायाममा समेत खेती गर्न समस्या भएका कारण यो आयोजनालाई प्राथमिकताका साथ अघि बढाइएको हो ।’ अहिले खोलाको मुलसमेत सुकेको र पानीको आधार नभएकाले भकुण्डे क्षेत्र सुख्खाग्रस्त रहेको भन्दै शर्माले केही बर्षपछि भकुण्डेमा सिञ्चाईको अभाव नहुनेगरी कार्यक्रमलाई अघि बढाइएको बताए ।
    नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलका अनुसार प्रदेश सरकार र संघीय सरकारका अन्य निकायसँग पनि सहकार्य गर्दै कार्यक्रमलाई प्रभावकारीरुपमा अघि बढाउने प्रयास भइरहेको छ ।
    सोती खोला जलाधार व्यवस्थापन कार्यक्रमअन्तर्गत यस बर्ष ९९ लाख ६८ हजार रुपैयाँको काम सम्पन्न भएको छ । त्यसमा १५ लाख २९ हजार रुपैयाँ जनश्रमदानबाट र बाँकी नेपाल जलवायु अनुकुलन कार्यक्रममार्फत खर्च भएको छ । नमोबुद्ध नगरपालिकाका इन्जिनियर उज्ज्वल अर्यालका अनुसार सहायक खोलासहित सोती खोला व्यवस्थापनका लागि कुल ४५ करोड ६८ लाख रुपैयाँ खर्चहुने अनुमानसहितको डिपिआर तयार भइसकेको छ । डिपिआरअनुसार खोलाको दुबैतर्फ कोरिडोरसमेत निर्माण हुनेछ । नमोबुद्ध नगरपालिका २, ३, ४ र ७ अन्तर्गत ४.३०५ किमी लम्बाईमा सोतीखोलाको मुहानदेखि दाप्चा खोलासम्म यो काम सम्पन्न हुनेछ ।
    नमोबुद्ध नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेका अनुसार भकुण्डे फाँटमा रहेका यँटा उद्योग विस्थापनसँगै किसानहरुलाई राहत दिनका लागि यो योजना फलदायी सावित हुनेछ । सोती खोला अहिले डोबको रुपमा मात्रै रहेको र पहिलेको नापीअनुसार खोलाको क्षेत्र छुट्याएर सोतीलाई पुनर्जीवन दिन लागिएको छ । वरिपरि सुख्खा रहेको क्षेत्रमा कृषिमार्फत जनताको आर्थिक उन्नतिमा टेवा पु¥याउन यो योजनाले महत्वपूर्ण भूमिका खेल्ने काफ्लेले बताए । उनका अनुसार सोती खोलामा पानीका लागि डिप बोरिङहरु सञ्चालन गरिनेछ र बोरिङको पानीलाई खोलामा बगाएर ठाउँठाउँमा पोखरी निर्माण गरिनेछ । ‘जमिनको पानी निकालेर जमिनमै बगाएर जमिनभित्रै पु¥याउने लक्ष्य रहेको छ, यसले जमिनमूनि पानी रिचार्जसमेत हुनेछ’ काफ्लेले बताए । खोलाको ठाउँठाउँमा निर्माण गरिने पोखरीबाट पानी तानेर सिञ्चाई गर्नका लागि सोलारको पनि व्यवस्थापन गरिने उनले बताए ।
    सोतीखोला जलाधार व्यवस्थापन कार्यक्रमको पहिलो चरणको काम सकिएपछि वन तथा वातावरण मन्त्रालयका सहसचिवद्वय डा. राधा वाग्ले र विन्दुकुमारी मिश्र तथा उपसचिव सिर्जना श्रेष्ठ, नगर प्रमुख टिपी शर्मा तिमल्सिना लगायतले कार्यक्रमस्थलको अनुगमन गरेका छन् । अनुगमनको क्रममा सहसचिव डा. वाग्लेले नमोबुद्ध नगरपालिकाको तदारुकताकै कारण कार्यक्रम अघ बढाइएको र किसानलाई सुविधा पु¥याउनका लागि यो कार्यक्रम प्रभावकारी हुने बताइन् । विगतमा अतिक्रमित भएको खोलालाई पुरानै अवस्थामा ल्याएपछि यसले स्थानीय जनताको जनजीविकाका लागि सहजता ल्याउने उनले बताइन् ।  वन मन्त्रालयकी उपसचिव सिर्जना श्रेष्ठले आगामी बर्षमा कार्यक्रमलाई निरन्तरता दिने र जलवायु नमुना कार्यक्रमलाई नमुनाको रुपमा अघि बढाउने बताइन् । नमोबुद्धमा यो कार्यक्रमले सफलता पाएपछि देशका अन्य स्थानमा पनि यसलाई मोडलको रुपमा लिएर सञ्चालन गर्ने श्रेष्ठको भनाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार