२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

चौंरीदेउरालीले ३ ठाउँमा आइसोलेसन कक्ष निर्माण गर्दै


२२३८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख २४, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले कोरोना भाइरस सङ्क्रमितको उपचारको लागि ३ ठाउँमा आइसोलेसन कक्ष निर्माण गर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिका सदस्यहरू र विभिन्न अस्पताल तथा स्वास्थ्य चौकीहरूको प्रमुख सहितको बैठकले कुल १८ बेडको आइसोलेसन कक्ष निर्माण गर्ने निर्णय गरेको पालिका अध्यक्ष दिननाथ गौतमले जानकारी दिए ।
    काभ्रे जिल्लामा कोभिड–१९ सङ्क्रमित बढी रहेको बेला उच्च सतर्कता र सङ्क्रमितको उपचार गर्नका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष गौतमले कोभिड–१९ रोकथाम र नियन्त्रणको लागि विभिन्न योजनाहरू बनाएको जानकारी दिए ।
    बैठकले धुसेनी शिवालय प्राथमिक अस्पतालमा १० बेडको, वडा नं. २ मा रहेको डिसीडब्लुसि अस्पतालमा ५ बेडको र धुलिखेल अस्पतालको आउटरिच सलम्बुमा ३ बेडको आइसोलेसन कक्ष निर्माण गर्न लागेको गौतमले बताए ।
    चौंरीदेउरालीमा धुसेनी शिवालय प्राथमिक अस्पतालमा २ जना, अरू अस्पतालहरूमा १÷१ जना गरी ४ जना एमबिबिएस डाक्टरहरू रहेका छन् ।
    औषधि र सिलिन्डर खरिद गर्नै
    यसैबिच बैठकले कोभिड–१९ सङ्क्रमितलाई उपचारको लागि स्वास्थ्यकर्मीले सिफारिस गरिएको सबै प्रकारको औषधि खरिद गर्ने निर्णय समेत गरेको अध्यक्ष गौतमले जानकारी दिए ।
    त्यस्तै बैठकले कम्तीमा २० वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखिने र उक्त सिलिन्डर खरिदको प्रक्रिया समेत अगाडि बढाउने गौतमले बताए ।
    एक हप्ता भित्र पदपूर्ति गरिने
    चौंरीदेउराली गाउँपालिका भित्रका स्वास्थ्य चौकीहरूमा विभिन्न पदमा रिक्त रहेको छ । स्वास्थ्य चौकीमा विभिन्न दरबन्दीमा खाली रहेका पदमा एक हप्ता भित्रमा स्वास्थ्यकर्मीहरूको पदपूर्ति गर्ने बैठकले निर्णय गरेको छ । साथै स्वास्थ्यकर्मीहरूलाई आवश्यकता अनुसार विभिन्न ठाउँको आइसोलेसन कक्षमा परिचालन गर्न लागेको अध्यक्ष गौतमले जानकारी दिए ।
    सङ्क्रमितको उपचारको लागि प्रतिदिन २ हजार
    आइसोलेसनमा कुनै पनि बिरामीको उपचार गर्नुपरेमा प्रतिदिन शुल्क पनि लगाउने निर्णय भएको अध्यक्ष गौतमले जानकारी दिए । ‘आइसोलेसनमा राखेर उपचार गर्नुपरेमा प्रतिदिन २ हजार रुपैयाँका दरले सङ्क्रमित बिरामीलाई उपचार शुल्क लगाउने निर्णय भएको छ ।’ गौतमले भने, ‘ल्याब र एक्स-रे बाहेक अक्सिजन र आवश्यकीय औषधिहरू निःशुल्क प्रदान गरिनेछ ।’
    बजार क्षेत्रमा भिडभाड नगर्न अनुरोध
    बजार क्षेत्र पुरै बन्द नगरेकोले सम्भावित भिडभाडलाई कम गर्न अध्यक्ष गौतमले सर्वसाधारणलाई अनुरोध गरेका छन् । ‘बजार क्षेत्रमा भिडभाड हुन नदिनका लागि हामीले बजार खोल्ने समय समेत निर्धारण गर्न लागेका छौँ ।’ उनले भने, ‘स्वास्थ्य सुरक्षाको मापदण्डहरूलाई अनिवार्य रूपमा पालना गर्न र गराउन म सबैमा अनुरोध गर्न चाहन्छु ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार