काभ्रेको मण्डनदेउपुर नगरपालिकाले आर्थिक वर्ष २०७८।७९ का लागि नीति तथा कार्यक्रम र बजेट नवौं नगरसभामा प्रस्तुत गरेको छ । आज सुरु भएको नगरसभामा नगरप्रमुख टोकबहादुर वाइवाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन् ।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९९ करोड ५ लाख ९२ हजार १ सय ४२ रुपैयाँ बजेट सार्वजनिक गरेको छ । उक्त बजेट मध्ये चालुतर्फ ५४ करोड २० लाख ९७ हजार १ सय ४२ र पुँजिगत तर्फ ४४ करोड ८४ लाख ९५ हजार रहेको छ । कोरोना महामारीका बिच भौतिक दुरीलगायतका स्वास्थ्य मापदण्ड पुरा गर्दै सञ्चालन गरिएको नगरसभामा सबै वडा अध्यक्ष तथा नगर कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो । नीति तथा कार्यक्रमले शिक्षा स्वस्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।
नगरपालिकाले प्रत्येक वडामा पूर्वाधार विकासका लागि ४० लाखका दरले बजेट विनियोजन गरको छ । यसैगरी नयाँगाउँ नगरकोट सडक कालोपत्रे गर्न ८ करोड ३० लाख बजेट छुट्याएको छ । रोहिणी नयाँगाउँ सडक कालोपत्रे गर्न ३ करोड रकम विनियोजन गरेको छ । जिरोकिलो मेलम्ची सडक अन्तर्गत फेदी देखि सिपाघाट बजार सम्म स्पिडब्रेकर र सडक बत्तीका लागि समेत नगरपालिकाले बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस