२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

७ सहकारीबाट ४४ लाख चोरी


२५३१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ १५, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौंमा ७ वटा सहकारी फुटाएर नगद तथा गहना चोरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट घर भई काठमाडौंको जोरपाटी बस्दै आएका २२ वर्षीय दिपक गजुरेल छन् । असार १२ मा उनलाई गौशालाबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    बानेश्वर, कोटेश्वर, गौशाला र मैतीदेवी क्षेत्रका सहकारीबाट दीपकले ४३ लाख ९७ हजार नगद र ९ तोला सुन चोरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । सिसा काट्ने मेशिनले झ्यालको सिसा काटेर उनले चोरी गर्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका इन्सपेक्टर अनिल अधिकारीले  बताए ।

    दीपकले बानेश्वरको बेबिलोन उपभोक्ता सहकारीबाट ०७७ माघ १५ मा ७ लाख २ हजार चोरेका थिए । त्यसयता उनले शंखमुलस्थित घर संसार सहकारीबाट २ लाख २४ हजार र मित्रपार्कस्थित पन्च बचत तथा ऋण सहकारीबाट १४ लाख ९८ हजार चोरी गरेको अनुसन्धानबाट थाहा भएको छ ।

    कोटेश्वरस्थित सिमश स्वामी बचत तथा ऋण सहकारीबाट २ लाख, बानेश्वरको सन्दुक बचत तथा ऋण सहकारीबाट १० लाख १३ हजार र  मैतीदेवीको जेष्ठ आइडोलोजी बचत तथा ऋण सहकारीबाट ५ लाख नगद चोरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    आरोपीले मैतीदेवीको गौंथली बचत तथा ऋण सहकारीबाट २ लाख ५८ हजार र ९ तोला गहना चोरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । कमलादीस्थित उनको डेराबाट प्रहरीले सोमबार ९ तोला सुन बरामद गरेको छ । महानगरीय प्रहरी वृत सिंहदरबारले चोरी मुद्दामा म्याद लिएर आरोपी माथि अनुसन्धान गरिरहेको छ ।

    उनी पाँच वर्ष लागुऔषध र चोरी मुद्दामा जेल बसेर छुटेको इन्सपेक्टर अधिकारीले बताए । बेबिलोन उपभोक्ता सहकारी चोरेको पाँच महिनापछि पक्राउ परेका दिपक चोरी गरेपछि महंगो होटलमा कोठा लिएर बस्ने गरेका थिए । ‘दिनको १० हजार तिरेर होटलमा बस्ने गरेको खुलेको छ’ अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले  भने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार