सुदिप काफ्ले
काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा २०७२ सालको विनासकारी भुकम्पले घर भत्केपछि प्रायजसोले घर पुनर्निर्माण गरे । उनीहरु नयाँ र भूकम्प प्रतिरोधी घर निर्माण गरेर निर्धक्कका साथ सुरक्षित आवासमा बस्न थाले ।
तर भुकम्पले घर भत्काएको ६ वर्ष वित्दा पनि तेमाल गाउँपालिकाका १३ परिवारले भने आर्थिक अवस्था अति नै कम्जोर भएकै कारण घर पुनर्निमाण गर्न सकेका थिएनन् । सरकारले राष्ट्रिय पुनर्निमाण प्राधिकरण मार्फत उपलब्ध गराएको पहिलो किस्ता रकम लिएपनि उनीहरुले घर पुनर्निर्माण गर्न नसकेपछि टहरोमै बस्दै आएका थिए ।शान्ति जन आदर्श सेवा केन्द्र र सिआरएस नेपालले ती अति विपन्न परिवारको भूकम्प प्रतिरोधी घर निर्माण गरेको जिम्मा लिएपछि विपन्न परिवारले नयाँ, पक्की र भूकम्प प्रतिरोधी घर पाएका छन् ।
दुई संस्थाको साझेदारीमा सञ्चालित काभ्रे पुनर्लाभ तथा पुनर्उत्थान परियोजना अन्तर्गत उनीहरुको घर पुनर्निर्माण गरिएको हो । अति विपन्न परिवार, दलित, एकल महिला, द्वन्द्व पिडित, एकल पुरुषलाई सो परियोजनामा समेटिएको शान्ति जन आदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामाले जानकारी दिए ।
तेमाल गाउँपालिकामा संस्थाले १३ विपन्न परिवारको घर निर्माण गर्नुको साथै ९० जना विपन्न परिवारको घरको लागि झ्याल ढोका, जस्तापाता लगायतका सहयोग गरेको र एक घर सवलीकरण गरेको केन्द्रका अध्यक्ष लामाले बताए । ‘तेमाल गाउँपालिकाबाट छनौट भई आएको १३ विपन्न परिवारको घर हामीले पनुर्निर्माण गरेका छौं । घर पुनर्निर्माण भइसकेपछि छानो छाउन नसक्ने, झ्यालढोका हाल्न नसक्ने ९० घरपरिवारलाई पनि हामीले त्यसको लागि ३० हजार देखि ५० हजार रुपैयाँसम्मको सामाग्री किनेर दिएका छौं ।’ लामाले भने, ‘एउटा घर सवलीकरण पनि गरेका छौं । अतिविपन्न परिवारले आर्थिक अवस्था कमजोर भएकै कारण टहरोमा दिन काट्न बाध्य भएका थिए । अब उहाँहरुले भूकम्प प्रतिरोधी घर प्राप्त भएको छ ।’
यसैबीच परियोजना अनुसार पुनर्निर्माण भएको परिवारले सरकारबाट लिएको पहिलो किस्त रकम समेत संस्थाले सरकारलाई नै फिर्ता गराएको उनले जानकारी दिए ।
विपन्न परिवार खुशी
भुकम्प गएको ६ वर्ष वितिसक्दा पनि आफूहरु टहरो कै बास हुनुपर्दा धेरै समस्या बोकेकी वडा नंं १ की ७५ वर्षिय बुद्धिमाया कामी सुरक्षित घरमा बस्न पाउँदा खुशी भएकी छिन् । ‘टहरोमै जीवन जान्छ जस्तो लागेको थियो । बाबुहरुले बनाईदिनुभयो । अब त मरेपनि अनन्तले मर्छु होला ।’ हर्षित हुँदै कामीले भनिन्, ‘गरिबको आँसु पछ्ने मान्छे नि यो धर्तीमा रहेछ ।’
वडा नं. ६ का भिमबहादुर नेपाली सुकम्बासी हुन् । नेपालीको भुकम्प प्रतिरोधात्मक घर पुनर्निर्माणका लागि लालपूर्जा नभएपछि बाटोको छेउमा सानो टहरो बनाएर बसेको ६ वर्ष बितेको थियो । सरकारले दिएको २ लाख रुपैयाँले उनले ६ आना जग्गा किने । तर घर निर्माण गर्ने पैसा नभएकोले उनको परिवारको बास टहरो मै थियो । शान्ति जन आदर्श सेवा केन्द्र र सिआरएसले पक्की घर बनाइदिएपछि उनी पनि खुशी नै छन् । ‘कम्तीमा आज मेरो बासको व्यवस्था भएको छ । खाना त म ज्यालादारी नै गरी खान्छु । टहरोमा बस्दा धेरै थरीको समस्या झेल्नु प¥यो ।’ नेपालीले भने, ‘अब ढुक्का भयो, संस्था र सरहरुलाई धन्यवाद । हाम्रो लागि साक्षात भगवान बन्नु भयो ।’
जनप्रतिनिधिद्वारा आभार
घर हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङले दुइ वटा संस्थाको समन्वयका कारण बिपन्नले घर पाएको र दुवै संस्थाको योगदान तेमाल भरिनै रहेको बताउँदै संस्थालाई धन्यवाद समेत प्रकट गरे । पुनर्निनिर्माण भइसकेको घरको बेवास्त नगर्न सम्बन्धित परिवारलाई उपाध्यक्ष तामाङले अनुरोध गरे ।
‘आजसम्म पनि घर पुनर्निर्माण गर्न नसकेका परिवारलाई घर बनाईदिएर आज उहाँहरुले सबैभन्दा ठूलो सेवा गर्नुभएको छ । उहाँहरुलाई धन्यवादका दिन चाहन्छु ।’ उनले भने, ‘संस्थाले बनाइदिएको त हो नि भनेर घरलाई बेवास्त नगर्नु होला । बाँकी काम सप्पन्न गर्न कार्यपालिकामा प्रस्ताव राख्नेछु ।’
घर हस्तान्तरण गर्दै केन्द्रका अध्यक्ष लामाले तेमालबाट सही परिवारको नाम छानेर पठाएकोले संस्थालाई गर्व लागेको बताए । ‘घर पुनर्निर्माण गर्नैपर्ने परिवारको नाम छानेर पठाउनु भएको रहेछ ।’ लामाले भने, ‘म आफै आज सबै परिवारसँग भेट्ने मौका पाएँ । सहयोग गर्नैपर्ने परिवारलाई सहयोग गर्न पाउँदा संस्थालाई गर्व लागेको छ ।’
आफूहरुले छाप्रोमा बस्न बाध्य परिवारलाई छानो बनाइदिने काम मात्र गरेको बताउँदै लामाले प्लास्टर, रंगरोगन लगायतका बाँकी काम गर्न गाउँपालिकालाई अनुरोध गरे ।
आफ्नो संस्थाले बनाएका घरहरुका प्लास्टर र रंग लगाउन रोशी गाउँपालिका र पनौती नगरपालिकाले प्रतिबद्धता जाहेर गरेको उनले बताए ।
शान्ति जन आदर्श सेवा केन्द्र र सिआरएसले आफ्नो वडाका अति विपन्न परिवारको घर पूनर्निर्माण गरेकोमा वडा नं. १ वडा अध्यक्ष मानबहादुर श्रेष्ठले आभार प्रकट गरे । ‘हामीले सर्वदलीय मिटिङले नै छनौट गरेका थियौं । हामी सरकारको एउटा अंगमा भएका निकायले उहाँहरुको घर निर्माण गरिदिन सम्भव थिएन ।’ श्रेष्ठले भने, ‘दुवै संस्थालाई आभार प्रकर गर्दै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा गरको छु ।’
वडा नं. २ का वडा अध्यक्ष तिमालसिं तामाङले आफ्नो वडामा रहेको अति विपन्न परिवारलाई घर पुनर्निर्माण गरिदिएकोमा संस्थालाई धन्यवाद दिंदै खानेपानीमा समेत संस्थाले सहयोग गरेको प्रति आभार समेत प्रकट गरे ।
वडा नं. ६ का वडा अध्यक्ष बिकुलाल मोक्तानले आफ्नो वडाका ३ परिवारलाई भुकम्प प्रतिरोधी घर निर्माण गरिदिएकोमा संस्थालाई धन्यवाद दिएका थिए । आफूले सुकुम्बासी भिमबहादुर नेपालीलाई घर बनाउन ६ आना जग्गा किन्न सहयोग गरेपनि घर निर्माण गर्न भने नसकिरहेको बेला संस्थाले घर निर्माण गरिदिएकोमा आफू्लाई खुशी लागेको बताए ।
वडा नं. ९ का वडा अध्यक्ष चन्द्रबहादुर लामा, वडा नं. ८ का वडा अध्यक्ष लक्ष्मिबहादुर घिसिङ, वडा नं. ७ का वडा अध्यक्ष ज्ञानबादुर तामाङ, वडा नं. ५ का वडा अध्यक्ष प्रविन लामा, वडा नं. ४ का वडा अध्यक्ष आसपुर तामाङ लगायतले संस्थालाई धन्यवाद दिए ।
कुन वडाका कतिले पाए नयाँ घर ?
तेमाल गाउँपालिकाका वडा नं. ३ बाहेक सबै वडाका विपन्न परिवारको भुकम्प प्रतिरोधी घर पुनर्निर्माण भएको छ । वडा नं. ३ बाट भने पुनर्निर्माणको लागि सिफारिस नभएको केन्द्रका अध्यक्ष लामाले जानकारी दिए ।
लामाका अनुसार वडा नं. १ का बुद्धिमाया कामी र कृष्णबहादुर नगरकोटी, वडा नं. २ का साइली तामाङ, वडा नं. ४ का रत्नमान लामा, विष्णु तामाङ, वडा नं. ५ का लालबहादुर तामाङ, वडा नंं ६ का भिमबहादुर नेपाली, उमेश नेपाली, मिममाया तामाङ, वडा नं. ७ का च्याङबारानी तामाङ, वडा नं. ८ का सुनमाया बमजन, अनिल दमाईं, वडा नं. ९ का कमलबहादुर तामाङले भूकम्प प्रतिरोधी घर पाएका छन् ।
केन्द्रका अध्यक्ष लामाका अनुसार जिल्लको ३ स्थानीय तहमा यो परियोजना अन्तर्गत पनौतीमा १६ घरपरिवार, रोशीमा १३ घरपरिवार र तेमालमा १३ घरपरिवारको गरी ४२ घर निर्माण गरिएको छ । छाना छाउन नसक्ने, झ्याल ढोका हाल्न नसक्ने २ सय ९२ विपन्न परिवारलाई पनि ३० हजारदेखि ५० हजार रुपैयाँसम्म संस्थाले सहयोग गरेपछि विपन्नले झ्याल ढोका, छानो छाउन सकेका छन् ।
घर हस्तान्तरण गर्न शान्ति जन आदर्श सेवा केन्द्रका कोषाध्यक्ष शान्ति लामा, सिआरएसका इन्जीनियर प्रकाश गैरे, शान्ति जन आदर्श सेवा केन्द्रका लिड इन्जीनियर दिपेश निरौंला, तेमाल क्षेत्र हेर्ने इन्जनियर गोकुल न्यौपाने लगायतकाको सहभागी रहेका थिए ।
प्रतिक्रिया दिनुहोस