२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

बौद्धिक अपाङ्ग केन्द्रलाई काभ्रे सेवा समाजको सहयोग


२२९२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र १, मंगलबार मा प्रकाशित ३ साल अघि
  • सुदिप काफ्ले
    काभ्रे । पाँचखाल, भाद्र १, काभ्रे सेवा समाजले पाँचखाल–११ खरेलथोकस्थित बौद्धिक अपाङ्ग पुनर्स्थापना केन्द्रलाई कोभिड–१९ सहयोगअन्तर्गत आर्थिक सहयोग गरेको छ । समाजलाई इन्भाष्ट ग्लोबल अष्ट्रेलियाबाट प्राप्त सहयोग रकमबाट केन्द्रलाई दुई लाख पचासहजार रुपैंया सहयोग प्रदान गरिएको हो ।

    केन्द्रको छात्रावास खरेलथोक, स्वाँरामा आयोजित कार्यक्रममा समाजका सल्लाहकार एवं पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल र अध्यक्ष नारायणसिंह महतले संयुक्त रुपमा सो रकम केन्द्रका अध्यक्ष केवलप्रसाद सिग्देललाई हस्तान्तरण गर्नु भएको थियो ।

    सो अवसरमा समाजका सल्लाहकार अच्युतकृष्ण खरेलले भन्नुभयो, ‘मुलुकका विभिन्न जिल्लाबाट खरेलथोकको केन्द्रमा आवाशीय रुपमा रहेर भगवती माविबाट विशेष शिक्षा लिइरहेका बौद्धिक अपाङ्गहरुलाई सबैले सहयोग गर्न आवश्यक छ । हाल आश्रित बिद्यार्थी, शिक्षक र सुसारे गरी २६ जनालाई दैनिक खाना खुवाउनमात्र सकेमा पनि तीर्थव्रत गरिरहनु पर्दैन । यो नै ठूलो तीर्थ हुन्छ’, उहाँले थप्नु भयो ।

    समाजका अध्यक्ष नारायणसिंह महतले विगतमा पनि कासेसले पलाञ्चोक क्षेत्रमा विनासकारी भुकम्पका बेलामा राहत एवं निजी घर पुनर्निर्माणमा सहयोग गरेको जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘त्यतिखेर विभिन्न दाताहरुको सहयोगमा विपन्नहरुको घर बनाएका थियौं । कोभिड–१९ को लहर फैलिएलगत्तै विभिन्न दाताहरुको समन्वयमा काभ्रे जिल्लाका लागि राहत र सहयोगका लागि समन्वय गरिरहेका छौं । यो कोभिड–१९ राहत सहयोग अन्तर्गत दोस्रो कार्यक्रम हो’, महतले भन्नुभयो ।

    सो केन्द्रका कोषाध्यक्ष रमेश खरेलले २०५८ सालमा भगवती माविमै विशेष कक्षाका रुपमा पुनस्र्थापना केन्द्र स्थापना भएकोमा तत्कालीन अवस्थामा आवाशीय सुविधा नहुँदा बालबालिका र अभिभावकहरु सबैले असुविधा व्यहोर्नु परेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘त्यतिखेर विहान ल्याउने र बेलुकी लैजानु पर्ने समस्याले गर्दा अभिभावकहरुले खरलेथोकमा डेरा लिएर ती बालबालिकाहरुलाई राख्नु पर्ने बाध्यता थियो । अहिले दाताहरुको सहयोगमा होस्टेल र कक्षा कोठाहरु बनेको छ । तर पनि शिक्षक र हेरालुहरुको तलब तथा विद्यार्थीहरुको खाना जुटाउनै धौधौ छ’, खरेलले भन्नु भयो ।

    केन्द्रकी सचिव एवं शिक्षिका सुधा खरेलले बौद्धिक अपाङ्गता भए पनि केही काम गर्न सक्छन् कि भनेर पाँचखाल नगरपालिकाको सहयोगमा पोतेमाला बनाउन तालिम दिइएको र फुर्सदको समयमा आश्रित बालबालिकाहरुले पोते माला र अन्य चीजहरु बनाउन सक्ने भएको सुनाउनुभयो । सो अवसरमा काभ्रे सेवा समाजका अध्यक्ष नारायणसिंह महतले केन्द्रलाई तत्कालै सहयोग स्वरुप ५ हजार रुपैंया उपलब्ध गराउनु भयो । यसैगरी, पनौती–५, ढलमले निवासी जनस्वास्थ्यकर्मी रञ्जुसिंह थापाले ३ हजार रुपैंया उपलब्ध गराउनु भएको थियो ।

    कार्यक्रममा पाँचखाल–११ का वडाध्यक्ष शिवशरण तामाङले अन्यखाले अपाङ्गता भन्दा वौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको पुनस्र्थापना जटील हुने आफुले महसुस गरेको बताउनु भयो । उहाँले तालिमका लागि नगरपालिकाबाट केन्द्रलाई सहयोग गरिएको र यसै वर्ष केन्द्रसम्म पुग्ने दुईमध्ये एउटा बाटो नगरपालिकाले मर्मतसुधार गर्ने वचन दिनु भयो । उहाँले भन्नुभयो, ‘नगरपालिकाबाट हुन सक्ने सहयोगका लागि मेरो निरन्तर प्रयास हुने नै छ । त्यसबाहेक मेरो जन्म दिनका अवसरमा आगामी पुष २५ गते केन्द्रलाई २५ हजार रुपैंया प्रदान गर्नेछु’, तामाङले घोषणा गर्नु भयो ।

    केन्द्रका अध्यक्ष केवलप्रसाद सिग्देलले बनेपा, नालादेखि खरलथोकको संस्थासँग जोडिनु परेको प्रसङ्गलाई अत्यन्तै पीडापूर्वक सुनाउनु भयो, ‘परिवारमा नातिनीको आगमनको खुशीयाली वर्ष दिन टिक्न पाएन । वर्षदिन पुगेपछि बल्ल थाहा पाइएको उनको बौद्धिक क्षमताले आज यहाँसम्म ल्याइपु¥यायो । यहाँ मेरी नातिनीजस्ता धेरैका सन्तानहरुलाई बौद्धिक सक्षमता बनाउनका लागि हामी सबै अभिभावकहरु जुटेका छौं । हालसम्म सबै मनकारीहरुले साथ र सहयोग दिँदै आउनु भएको छ । यसले हामीलाई अझ सक्रिय भएर काम गर्नका लागि हौसला मिलेको छ’, सिग्देलले थप्नु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार