काभ्रे (धुलिखेल) – जिल्लामा आज थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार काभ्रेमा आज ४२ जनाको उपचारपछि संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा बनेपा नगरपालिकाबाट ७ जना महिला र ६ जना पुरुष, धुलिखेल नगरपालिकाबाट ३ जना महिला र पनौती नगरपालिकाबाट २ जना महिला र १ जना पुरुष १९ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।
उनका अनुसार पछिल्लो २४ घण्टामा गरिएको एन्टिजेन परीक्षणमा पनौती नगरपालिकाबाट २ जना महिला १ जना पुरुष र नमोबुद्ध नगरपालिकाबाट १ जना महिला गरी ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १४ हजार १ सय ६८ पुगेको छ । त्यस्तै जिल्लाका कुल कोरोना संक्रमित संख्यामध्ये १३ हजार ५ सय ८९ जना उपचारपछि संक्रमणमुक्त भएको कार्यालयले जनाएको छ । कोरोना संक्रमणका कारण अहिलेसम्म काभ्रेका १ सय ८८ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस