हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले अझैपनि समाजमा मानव अधिकार उल्लंघनका घटनाहरु व्याप्त रहेको बताएका छन् ।
शुक्रबार हेटौंडामा भएको मानव अधिकार रक्षक प्रादेशिक सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् । सबैभन्दा धेरै मानव अधिकार उल्लंघनका घटनाहरु महिला र पुरुषलाई बराबर अवसर नदिँदा हुने गरेको उनले बताए ।
समाजमा धेरै किसिमका हिंसाहरु हुँदाहुँदै पनि राजनीतिक दलका प्रतिनिधिहरु नै बोल्न डराउने गरेका छन्’, मुख्यमन्त्री पाण्डेले भने, अन्यायका बिरुद्ध बोल्दा भोट घट्छ भन्ने मानसिकता राजनीतिक दलका प्रतिनिधिमा रहेको छ ।’ मानव अधिकार रक्षकहरुले नै आफ्नो भूमिका दुरुपयोग गरिरहेको समेत उनले आरोप लगाएका छन् ।
धेरैजसोले राम्रो काम गरेपनि केहि मानव अधिकार रक्षकहरुले आफ्नो भूमिका बिर्सिएको उनको आरोप छ । ‘बागमती प्रदेश सरकारले सामुदायिक विद्यालयमा पढेर समुदायिक क्याम्पसमा भर्ना भएका छात्राहरुलाई छात्रवृत्तिको व्यवस्था गर्ने निर्णय गरेको छ,’ मुख्यमन्त्री पाण्डेले थपे, ‘जसका लागि प्रदेश सरकार एकअर्ब रुपैया बजेट खर्च गर्न तयार रहेको छ ।’ राष्ट्रिय मनवअधिकार आयोगले देशका सातवटै प्रदेशमा मानव अधिकार रक्षक सम्बन्धी प्रादेशिक सम्मेलन एकसाथ सुरु गरेको हो । कार्यक्रममा ३० भन्दा धेरै संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस