२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

महिला संगठनको बैठकमा कुटाकुट


२४६० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ अषाढ २६, आईतबार मा प्रकाशित २ साल अघि
  • काठमाडौँ — राप्रपाको महिला संगठनको अनौपचारिक बैठकमा हात हालाहाल भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आन्दोलनको विषयमा बोलाइएको छलफलमा हात हालाहाल भएको हो ।

    राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन अध्यक्ष अञ्जना रावलले आन्दोलनको कार्यक्रमबारे छलफल गर्न भएको भेलामा कुमारी तामाङसहितको महिला नेतृहरु हातपातमा उत्रिएको बताइन् । अध्यक्ष रावलले छलफल सुरु गर्न अवरोध गरेको र उनीसँग आएका अन्य महिलाले हातपात गरेको बताइन् ।

    ‘असार २ गते जिम्मेवारी पाए पनि आन्तरिक विवादको कारण संगठनलाई विस्तार गर्न सकेको थिइनँ । पार्टीले विभिन्न विषयमा अहिले आन्दोलन गरिरहेको नीतिअनुसार त्यसको नारा र कार्यक्रमका लागि छलफल गर्न अनौचापरिक बैठक बोलाएको थिएँ’, अध्यक्ष रावलले भनिन्, ‘कुमारी तामाङ आक्रमण गर्न सुनियोजितरुपमा आउनुभएको रहेछ । बैठकको सुरुदेखि नै अरुलाई बोल्न पनि दिनुभएन । उहाँसँग आएका महिलाहरुले हातपात सुरु गरे ।’ तामाङ राप्रपा सिन्धुपाल्चोक क्षेत्र नं २ को क्षेत्रीय अध्यक्ष हुन् । बैठकमा असार ३१ गते गृह मन्त्रालयमा बुझाउन ज्ञापनपत्र र त्यसको नाराको विषयमा छलफल गर्नका लागि बैठक बोलाएकी छन् । तामाङले पार्टीको नेतृ रविना शाहीमाथि हातपात गरेपछि केही समयमा परिस्थिति तनावग्रस्त भएको थियो । ‘हामीले केही शान्त भएपछि तामाङले महिला संगठनले नभै पार्टीको महिला विभागले ज्ञापनपत्र बुझाउने भन्नुभयो मैले हुन्छ भनेपछि शान्त थियो,’ रावलले भनिन् ।

    रावलले पार्टी महामन्त्री कुन्ती शाहीको निर्देशनमा घटना भएको आरोप लगाएकी छिन् । ‘यो घटना महामन्त्री कुन्ती शाहीको योजनाअनुसार भएको हो,’ रावलले भनिन्, ‘एक पटक विवाद भएर शान्त भएको अवस्थामा महामन्त्री शाही बैठकस्थल प्रवेश गरेर मानिस पिट्न थाल्नुभयो।’ शाहीले बिमला न्यौपानेमाथि हातपात गरेको रावलले बताइन् । ‘विवाद यति उग्र भयो कि छुट्याउन आउनु भएका महामन्त्री राजेन्द्र गुरुङ घाइते हुनुभयो,’ रावलले भनिन्, ‘कुन्ती शाहीले आक्रमण गर्दा मिना विष्टलाई औंला भाँचिएको छ ।’

    रावलले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, अनुशासन विभागलाई घटनाको बारेमा जानकारी गराएकी बताइन् । महामन्त्री शाहीले पार्टी कार्यालयमा विवाद भएको सुनेपछि बैठकस्थलमा पुगेर समाधान गरेको बताइन् । ‘अन्तर्राष्ट्रिय विभागको बैठकमा थिएँ । तल महिलाहरुको धकेलाधकेल भएको जानकारी आएपछि बैठकबाट गएर छुट्याएको हुँ,’ शाहीले भनिन्, ‘बैठकस्थलमा सीसीटीभी छ हेर्दा भैहाल्छ नि ! मैले हातपात गरेको छैन । झगडा भएको अवस्था छुट्याउनु मेरो कर्तव्य हो । महिलाहरु झगडा गरेर बस्दा हेरेर बस्ने कुरा भएन ।’

    रावलको नियुक्त नै विधानविपरीत रहेको शाहीले बताइन् । ‘पदाधिकारी भएपछि मात्रै अध्यक्ष हुन पाउने व्यवस्था भए पनि संगठनमा काम नगरेको व्यक्तिलाई टिपेर अध्यक्ष बनाउने होइन नि !,’ शाहीले भनिन् । शाहीले आफू पार्टी महामन्त्री भएको कारण सबै गतिविधिलाई हेर्ने र नेतृत्वलाई सुझाव दिने जिम्मेवारी भएको बताइन् । ‘गलत निर्णय भइरहेको छ भने नेतृत्वलाई सजग गराउने हो,’ शाहीले भनिन्, ‘मैले धेरै वर्षदेखि महिला संगठनको नेतृत्व गर्दा कहिल्यै विवाद भएको थिएन ।’

    रावलको अध्यक्षमा गरिएको मनोनयनविरुद्ध पार्टीको महिला नेतृहरुले पार्टीमा ज्ञापनपत्र बुझाएको शाहीले बताइन् । ‘संगठनभित्र देखिएको विवाद समाधान गर्ने मोडालिटी बनाउने विषयमा छलफल भइरहेको थियो । तर आज कार्यक्रम राखेपछि विवाद भयो,’ उनले भनिन् । रावलले भने शाही र तामाङमाथि पार्टी सदस्यसमेत नरहने गरी कारबाही गर्न माग गरेको बताइन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार