काठमाडौं – नेपालमा पछिल्ला दिनमा ‘हनी ट्रयाप’मा परी फस्नेहरु बढ्दै गएका छन् । सामाजिक सञ्जाल मार्फत नजिक भएर युवाहरुलाई काठमाडौंको विभिन्न रेस्टुरेन्टमा भेटघाटको लागि बोलाई अनेक झुठा आरोप लगाई झुठा मुद्दामा फसाइ दिने डर देखाउँदै पैसा असुल्ने हनिट्रयाप अपराध अहिले बढ्न थालेको छ ।
गएको ५ महिना भित्र यस्तो किसिमको ४ वटा घटनाको काठमाडौं उपत्यका प्रहरी अनुसन्धान कार्यालयले सफल अनुसन्धान गरी सकेको प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कुमार कोइरालाले बताए ।
यस्तो अपाराध गर्ने गिरोह नै सक्रीय रहेको हुन्छ भने गिरोहले सामाजिक सञ्जालको दुरुपयोग गरेर यस्तो अपराध गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रवक्ता कोइरालाले बताए ।
त्यस्तै यस किसिमका व्यक्तिहरुले विशेष गरी समाजका प्रतिष्ठित र आर्थिक रुपले सम्पन्न व्यक्तिहरुलाई टार्गेट गर्ने गरेको पनि प्रहरीले जनाएको छ । कतिपयले मागेजति पैसा नदिए मानसिक तनावदेखि ज्यान मार्नेसम्मको धम्की दिने गरेका छन् ।
प्रहरीका अनुसार पछिल्लो तीन वर्षमा धेरै उजुरी परेका छन् । यस्ता घटनामा पुरुष मात्रै शिकार बनेका छन् । कतिले कैयौं सम्पत्ति गुमाएका छन् भने कतिले मानसिक तनाव भोगेका छन् ।
यस्तो आपराधिक गिरोहमा महिला, नक्कली वकिल, नक्कली प्रहरी अधिकारी र नक्कली समाजसेवीको भुमिकाको काम गर्ने सदस्य समेत तयार रहेको हुन्छ । उनिहरुले आफ्नो भुमिका अनुसारको कुराले पिडितलाइ रकम असुल्न दबाब दिने काम गर्छन् ।
यस्तो घटनाका पिडितहरु सुरु सुरुमा आफ्नो इज्जत जाने डरले प्रहरीको सम्पर्कमा नआउने, सकेसम्म सानोतिनो रकम दिएर उम्कने प्रयास गर्ने तर अलि बढि नै रकम पटक पटक माग्न थाले पछि अन्त्यमा सहयोग माग्न प्रहरीकोमा आउने प्रवक्ता कोइरालाले बताए ।
अहिलेसम्मको अनुसन्धानबाट हनि ट्र्यापका गिरोहले ४० लाख रुपैयाँ सम्म पिडितसँग मागेको खुलेको छ भने स्वयं प्रहरी कर्मचारी नै पनि हनि ट्र्यापको शिकार बन्न पुगेको प्रहरीको भनाइ छ ।
यस्तो अपराध सामाजिक सञ्जाल मार्फत हुने भएको हुँदा यस्तो घटनाबाट बच्न तपाईं हामीले आफ्नो आचरण व्यवहार सुधार्न आवश्यक रहेको र सामाजिक सञ्जालमा कस्तो साथी बनाउने भन्ने कुरामा निकै ध्यान पुर्याउन सकेको खण्डमा यस्तो आपराधिक गिरोहबाट बच्न सकिने प्रवक्ता कोइरालाले सुझाए ।
यदि तपाईंहरु पनि सामाजिक सञ्जाल प्रयोग गर्नुहुन्छ भने आएको फ्रेण्ड रिक्वेष्ट एसेप्ट गर्दा एकदम ध्यान पुर्याउन जरुरी छ । अन्यथा यस्तै आपराधिक गिरोहोको फन्दामा परेर इज्जत पैसा गुमाउनुका साथै घर परिवार नै तहस नहस हुन के बेर ?
प्रतिक्रिया दिनुहोस