सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको धाप र आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन गरिएको छ । मध्यरातदेखि परेको पानी बिहानसम्मै परिरहेकाले सो क्षेत्र भई बहने स– साना नदीहरूमा आकस्मिक बहाव हुने हुँदा तटीय क्षेत्रहरू तथा पहिरो जान सक्ने भिरालो जमिनहरूमा बिहानसम्मै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो ।
यसै बीच मेलम्ची खोलामा पनि बाढी आएको मेलम्ची ६तालामाराङका योग बहादुर अर्यालले बताउनुभयो । हेलम्बु ,मेलम्चीका नदी तटका बासिन्दा पानी पर्ने बित्तिकै नसुत्ने गरेका छन् ।
मेलम्ची–हेलम्बु सडक अवरुद्ध
यसैबीच गएरातिको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची ११ मा सडक अवरुद्ध भएको छ । सिमखेत नजिकै नदी सडकमा पस्दा कटान गरी यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीको वडा नं ६ र ७ का स्थानीय प्रभावित भएका छन् । पानीको बहाव हेरेर सडक सञ्चालन गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस