काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ अर्थोपेडिक अस्पताल नजिकै स्कुटर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा स्कुटर चालक काठमाडौंकै शंकरापुर नगरपालिका–५ पालुबारीका ३५ वर्षीय बाल कुमार कटुवाल रहेका छन् । अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा कटुवालको गएराती पौने १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
कटुवाल प्रहरी प्रभाग साँखुमा कार्यरत प्रहरी हवल्दार रहेको बुझिन आएको छ । दुर्घटनामा घाइते भएका स्कुटरमा पछाडी जोरपाटी बस्ने ३१ वर्षीय सुरेश राई र मोटरसाइकल चालक भक्तपुरका सुमन श्रेष्ठको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ ।
मोटरसाइकलमा पछाडी सवार भक्तपुरकै २० वर्षीय रोजित गाइजुको उपचार भने थापाथली स्थित नर्भिक अस्पतालमा भइरहेको छ । बा ७६ प १३५ नम्बर स्कुटर र बागमती प्रदेश ०२ ०१९ प २४७६ नम्बरको मोटरसाइकल गएराती साढे ११ बजे ठोकिएका थिए ।
प्रतिक्रिया दिनुहोस