काभ्रेपलाञ्चोक . जिल्लाको पनौती नगरपालिका वडा नं स्थित सम्पदा क्षेत्रमा पर्ने ७३ वटा घरलाई सम्पदामैत्री बनाइने भएको छ । सम्पदा क्षेत्रभित्र पर्ने एक हजार चार घरमध्ये पहिलो चरणमा ७३ घर सम्पदामैत्री बनाईने भएको हो ।
सम्पदामैत्री घर निर्माण गर्न परम्परागत इँटा, सुर्की, चुना, टायल वा झिँगटीको छानो, बिजोरमुखे झ्याल प्रयोग गर्नुपर्ने बताईएको छ ,यस्तै आवास निर्माण गर्दा सटर राख्न नमिल्ने, सिमेन्ट प्रयोग गर्न नपाइने, घरको पूरै भागलाई कौसी बनाउन नपाइने, घरको उचाइ छानोसहित ३५ फिट मात्रै हुनुपर्ने मापदण्ड तोकिएको सम्पदा शाखाका इन्जिनियर प्रदीप बस्नेतले बताए ।
यसका लागि नगर कार्यालयले स्थानीयलाई प्रोत्सहानस्वरुप आर्थिक सहयोग गरिरहेको छ । नगरले संरक्षित स्मारक क्षेत्रमा रहेका पुराना शैलीका निजी भवनको संरक्षण तथा बाहिरी आवरण सम्पदामैत्री बनाउनेसम्बन्धि प्रोत्साहन मापदण्ड–२०७७ जारी गरी स्थानीयलाई प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रणराज न्यौपानेले जानकारी दिए ।
उनका अनुसार नगरस्थित सम्पदा शाखाले स्थानीयले सम्पदामैत्री संरचना निर्माणबारे अनुगमन, आवासको नक्सा पूरातत्व विभाग तथा नगरबाटै अन्तिम स्वीकृत गराउने काम गर्दै आएको छ ।
मापदण्डबमोजिम आवास निर्माण गर्नेलाई प्रोत्साहनवापत एक वर्षमा चरणवद्धरुपमा २९ स्थानीयलाई रु ८४ लाख ६३ हजार तीन सय ३० प्रदान गरिने सम्पदा शाखाका इन्जिनियर प्रदीप बस्नेतले बताए । उनका अनुसार नगरपालिकाले घरको बाहिरी आवरण, सार्वजनिक सडक, गल्ली, चोकबाट अगाडि मोहडाको प्रतिवर्गफिट रु पाँच सयका दरले प्रोत्साहनवापत सहयोग उपलब्ध गराउँदै आएको हो ।
प्रतिक्रिया दिनुहोस