नयाँ बानेश्वरस्थित कात्यानी चोकमा सञ्चालित ‘केएस मोबाइल सप’मा आइतबार दुईजना ग्राहक मोबाइल किन्ने निहुँमा गए । फेसबुकमा बिक्रीमा राखेको मोबाइल हेरेर उनीहरू मोबाइल किन्न पुगेका थिए ।
कात्यानी चोक स्थित कपिल श्रेष्ठले सञ्चालन गरेको पसलमा उनीहरूले अनलाइन बिक्रीमा राखेको मोबाइल मन परेन भन्दै नयाँ देखाउन आग्रह गरे । कपिलले आफैँले चलाएको मोबाइल देखाएर ‘यो मन पर्छ भने पनि लैजानु’ भने । उनीहरूले बिल देखाउन आग्रह गरे । कपिलले भने–‘विदेशबाट पठाइदिएको हो, बिल छैन ।’ त्यसपछि ती ग्राहकले भने–‘हामी प्रहरी हौँ, बिल बिनाको सामान बेच्ने ?’
कपिलले चलाएको र विक्रीमा राखेको सहित ३ वटा आईफोन लिएर उनीहरू हिँडे । मोबाइल लुटेर हिँड्नेमा सिन्धुपाल्चोक घर भएका ४१ वर्षीय बाल सुन्दर सापकोटा र ४० वर्षीय अर्जुन कार्की थिए । बालसुन्दर पूर्व असई र अर्जुन पूर्व हवल्दार हुन् ।
पसलमा मोबाइल लुटपाट हुँदै गर्दा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायव निरीक्षक (सई) मुन सापकोटा पसल बाहिर थिए । सई सापकोटाले रेकी गरेर पूर्व प्रहरीहरूले लुटेको अनुसन्धानबाट थाहा भएको छ । अपराध अनुसन्धान कार्यालयले लुटमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
तर, लुटपाटको रेकी गरेको खुलेपनि अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईले प्रनानी सापकोटामाथि अनुसन्धान अघि बढाएका छैनन् । केही दिनअघि मात्र सरुवा भएर अनुसन्धान कार्यालयमा गएका सापकोटा लुटपाटको घटनामा संलग्न देखिँदा विभागीय कारबाही हुनबाट समेत जोगिएपछि त्यहाँ कार्यरत प्रहरीहरु आश्चर्यमा परेका छन् ।
लुटेराहरूले नक्कली पेस्तोल समेत देखाए । कपिललाई उनीहरूले एउटा नम्बर दिएका थिए । सो नम्बरमा कपिलले फोन गर्दा प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरीले रिसिभ गरेका थिए । फेसबुकमा राखेको मोबाइल किनबेच गर्नेबारे कुरा हुँदा कपिलले ग्राहकको नाम थाहा भएका थिए । सोह्रखुट्टेमा फोन गरेर उनले सोधे–‘बाल सुन्दर सापकोटा र अर्जुन कार्की त्यहाँ कार्यरत हुनुहुन्छ ?’ जवाफ आयो–‘त्यो नामका प्रहरी छैनन् ।’ त्यसपछि मोबाइल पसल सञ्चालकले बानेश्वर प्रहरीलाई खबर गरेर घटनाबारे जानकारी गराएका हुन् ।
प्रतिक्रिया दिनुहोस