आइ.आर.के.मैनाली
काभ्रेपलाञ्चोक । भूमि व्यवस्थापन‚ सहकारी तथा गरिब निवारण मन्त्रालय बागमती प्रदेशका सचिव बलराम निरौलाले बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था नेपालकै गौरवको रुपमा विकास भएको बताउनु भयो ।
सोमबार काभ्रेको बनेपामा आयोजित बिन्धवासिनी सहकारी संस्थाको २९ औं बाषिर्क साधारण सभाबाट भएको निर्णय प्रमाणिकरण‚ सम्मान तथा शुभकामना साथै नवनिर्वाचित पदाधिकारीहरूको पदभार ग्रहण कार्यक्रममा प्रमुख अतिथि निरौलाले उक्त धारणा राख्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सचिव निरौलाले ४० हजार भन्दा बडी शेयर सदस्यहरूलाई व्यवस्थापन गर्दै निर्विरोध ढंगबाट सञ्चालक समितिको चयन गरेकोमा खुसी व्यक्त गर्नुभयो । अबको दिनमा सहकारी कर्मीहरूले सोचलाई परिवर्तन गर्नु पर्यो‚ अहिले सम्मको सहकारीहरुको बुझाईलाई परिवर्तन गर्न जरुरी रहन्छ । सहकारीहरुलाई नयाँ सोचका साथ अगाडि बढाएर सदस्य केन्द्रित कार्यहरू गर्नुपर्ने बताउनु भयो ।
सहकारी किन सञ्चालन गरेका छौं ? नाफाको लागि हो कि सेवाको लागि हो ? भनने विषय महत्वपूर्ण पक्ष रहेको प्रमुख अतिथि निरौलाले बताउनु भयो । सहकारीको मान्यता सेवाको लागि भएपनि आम जनमासमा बुझाई नाफाको लागि हो भन्ने बुझाई रहेको छ । सदस्यहरूलाई उद्देमशिलता साथै व्यवसायिक बनाउनु सहकारी क्षेत्रमा आजको आवश्यकता रहेको बताउनु भयो ।
संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेफ्कुन महासचिव दामोदर अधिकारी‚ बागमती प्रदेश सहकारी संघका अध्यक्ष उद्धव सापकोटा‚ राष्ट्रिय सहकारी बैंकका प्रमुख मनोज खड्का‚ जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्मा‚ चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवीन भक्त बादे‚ बिन्धवासिनी बचत तथा ऋण सहकार संस्थाका नव निर्वाचित अध्यक्ष शान्त कुमार श्रेष्ठ‚ लेखा तथा सुपरीवेक्षण समितिका संयोजक सुन्दर श्रेष्ठ ‚ संस्थाका प्रमुख कार्यकारी अधिकृत के.वी तमाङ ले संस्थाको बारेमा आ—आफ्नो धारणा राख्नु भएको थियो ।
संस्थाको २९ औं साधारण सभाबाट शान्त कुमार श्रेष्ठको अध्यक्षतामा गठित सञ्चालक समितिका उपाध्यक्ष राम हरि शर्मा तिमल्सिना‚ सचिव डोरेन्द्रराज सापकोटा‚ कोषाध्यक्ष भीम बहादुर खत्री निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा लोक दर्शन कर्माचार्य पुनम घिमिरे‚ केशव थापा‚अर्जुन खनाल‚ गणेश प्रसाद पराजुली‚प्रकाश बहादुर कायस्थ‚ बुद्धि माया लामा‚ सुनिता धिताल र जमुना खड्का रहनु भएको छ । लेखा सुपरीवेक्षण समितिका संयोजक राम कुमार श्रेष्ठ सदस्यहरूमा बिदुर थापा र सिद्धि लक्ष्मी पोते रहनु भएको छ ।
प्रतिक्रिया दिनुहोस