काभ्रेपलाञ्चोक । गठबन्धनका तफर्बाट काभ्रे क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार शिव प्रसाद हुमागाईँ र प्रदेशसभा क का उम्मेदवार लक्ष्मण लम्सालले मतदाताहरूसँग भेटघाट कार्यक्रमलाई तिव्रता दिइएको छ ।
काभ्रे क्षेत्र नं २ को महत्वपूर्ण साथै निर्णायक मतको रुपमा मानिने पाँचखाल नगरपालिका लाई लक्षित गर्दै गठबन्धनका उम्मेदवारहरूले प्राथमिकता दिदै छन् । जस अनुसार आज शनिबार पाँचखाल नगरपालिका वडा नं १३‚ ७‚ १० र ६ मा कोणसभाको आयोजना गरिएको थियो ।
उक्त कोणसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा उम्मेदवार हुमागाईले भन्नुभयो— आगामी मंसिर ४ मा हुने निर्वाचन अग्रगमन पक्षधर र प्रतिगमन पक्षधरका बिचमा हुने जनमत संग्रह हो । ०७४ को निर्वाचनमा बाम गठबन्धन भएको थियो‚ जसलाई नेपाली जनताले साथ दिए जसको कारण एमालेको नेतृत्वमा बहुमतको सरकार बन्यो । जनताले गरेको विश्वास घात गर्दै जनहितको विरुद्ध कार्यगर्दा बहुमतको सरकार ढलेको हुमागाईले बताउनु भयो ।
कार्यक्रममा हुमागाईले थप्नुभयो—नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई बहुमतको उन्माद हुनुका साथै अधिनायकवादको सोच पलाउँदा निरंकुश ढंगबाट अगाडि बढ्दा पार्टीमा सन्तुलन कायम राख्न नसक्दा पार्टी फुटेको बताउनु भयो । विकास निर्माण कार्यको लागि पाता फर्काउँछु भन्ने भनाई राख्दै हिड्ने गोकुल बाँस्कोटाले विकास निर्माणको नभई आफ्नै पार्टीका नेता तथा कार्यकर्ताको पाता फर्काउने कार्य गरेको बताउनु भयो ।
कार्यक्रममा प्रदेशसभा उम्मेदवार लक्ष्मण लम्सालले भन्नुभयो—काभे्रको विकास निर्माण कार्यको लागि ५ वर्षसम्म निरन्तर रुपमा लागे‚ स्वास्थ्य‚ शिक्षा‚ खानेपानी‚ सडक‚ सिँचाइको लागि धेरै कामहरू भएका छन् । पाँचखालको विकास निर्माणको लागि निरन्तर रुपमा अगाडि बढ्दै गर्दा ५० करोडको एकमुस्ट बजेट व्यवस्था गर्न सफल भएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस