२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

पाँचखाल पुत्र सापकोटाको सालिक अनावरण‚ सालिक अनावरण पहिलो पाइलो हो—बाँस्कोटा


५४३८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ मंसिर १५, बिहिबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं ६ स्थित बलराम स्मृति चोकमा पाँचखालका होनहार व्यक्तित्व स्व. बलराम सापकोटाको सालिक अनावरण भएको छ ।

    पाँचखालको मुहारमा चमक ल्याउनाका साथै पाँचखाल बासिहरूको हितको खातिर कार्य गर्ने उद्देश्यले निरन्तर रुपमा अगाडि बढ्दै जाने क्रममा आज भन्दा २४ बर्स अगाडि माओवादी १० बर्से जनयुद्धको क्रममा बेपत्ता पारी हत्या भएको थियो ।

    कलिलै उमेरमा पाँचखालको मुहारमा चमक ल्याउने अठोटका साथ अगाडि बढेका सापकोटा पाँचखालमा ०४३ सालमा उपप्रधान पञ्चको जिम्मेवारी सम्हाल्दै सर्वहाराको हितको खातिर संगठन विस्तार कार्यमा निरन्तर लाग्दै आउनु भएको थियो । आफ्नो प्रधानपञ्च मुक्तिनाथ अधिकारीसँग समेत मुलुकमा आमूल परिवर्तन गर्दै बहुदल ल्याउनु पर्ने विषयमा छलफल गर्दै दुवै जना एक ढिक्का भएर बहुदलको लागि भूमिगत ढंगबाट संगठन निर्माण गर्ने कार्यमा जुट्नु भएको थियो ।

    सालिक अनावरण कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका पोलिटब्युरो सदस्य‚ पूर्व सूचना तथा सञ्चार मन्त्री एवं काभ्रे क्षेत्र नं २ बाट प्रतिनिधि सभामा निर्वाचित गोकुल बाँस्कोटाले भन्नुभयो—स्वर्गिय बलराम सापकोटाको परिवारको साथमा नेकपा एमाले पार्टी साथमा छ ‚ पाँचखाल र आसपासका सम्पूर्ण समाज बलरामको परिवारको साथमा छ‚ त्यसैले निरास हुनु पर्ने अवस्था छैन । “बलराम सापकोटा एउटा मान्छे त हो ‚ तर फरक मान्छे हो एउटा सामाजिक अभियन्ताको साथै सचेत राजनीतिज्ञ हो ।” राजनीतिमा कयौं उतार चढाब आउछिन् एउटा उतार चढाब अप्ठेरै परिस्थितिमा नहुनुपर्ने गरी अकारण निहत्था ढंगले भएको कार्यप्रति हामी सबै दुखित छौं‚ हामीले खेद व्यक्त समेत गरेको बाँस्कोटाले बताउनु भयो । सालिक अनावरण पहिलो पाइलो हो ‚ अबको दिनमा धेरै कार्यहरू हुन्छन् बलरामको व्यक्तित्व एवं सामाजिक अभियन्तालाई जिवनता दिने बताउनु भयो । बलराम स्मृति खेल मैदानको सुरुवात भएको छ‚ त्यसलाई थप व्यवस्थापन गर्ने साथै घेराबारीको बारेमा पहल गरिने बताउनु भयो ।

    २४ औं बलराम स्मृति दिवसको तथा सालिक अनावरणको क्रममा स्वर्गीय बलराम सापकोटाको धर्मपत्नी सरिता सापकोटाले भन्नुभयो—हामी हाम्रो परिवारमा सात सूर्य उदय जसरी बसेका थियौं एक्कासि २४ बर्स अगाडि मंसिर १४ को दिन हाम्रो परिवारमा कालो दिनको उदय भयो । हामीलाई कालो दिनले ढाकेको २४ बर्ष भयो‚ तैपनि नेकपा एमाले सिंगो पार्टीको साथ सहयोग हौसलाका कारण बाँचिरहेका छौं । स्वर्गीय पतिले समाज निर्माणको लागि सुरुगरेका अधुरा कार्यहरू पार्टीले पुरा गर्छ भन्ने अपेक्षाका साथ पार्टीको साथमा रहेको बताउनु भयो । पार्टीले बलरामलाई सहिद घोषणा गरेको छ‚ तर राज्यले छैन‚ राज्यको तफ र्बाट पनि सहिद घोषणाको लागि पहल हुनुपर्ने धारणा राख्नुभयो ।

    समाजसेवी भोजराज पन्तले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा नेकपा एमाले पाँचखाल नगरकमिटीका अध्यक्ष विष्णुहरि पौडेलले बलरामको योगदानको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सांसद गोमा भुर्तेल‚ पाँचखाल नगरपालिका उपमेयर सुर्य मायाँ दनुवार‚ एमालेका बौद्धिक नेता कुमार खकुरेल लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । सो सालिक निर्माणको लागि पाँचखाल नगरपालिका वडा नं ६ को कार्यालयबाट विकास बजेट मध्यको रकम कटौती गरी ५ लाख उपलब्ध गराएको वडा अध्यक्ष रामशरण दुलालले जानकारी गराउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार