२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

स्थानीय तहका उम्मेदवारले जरिबाना तिर्नु नपर्ने, राष्ट्रपतिद्वारा माफी मिनाहा


४१३६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ फागुन ५, शुक्रबार मा प्रकाशित १ साल अघि
  • काठमाडौँ । निर्वाचन आयोगको निर्णयअनुसार जरिबानामा परेका स्थानीय तहका उम्मेदवारले अब जरिबाना तिर्नु नपर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सबै उम्मेदवारको जरिबाना माफी मिनाहा गर्ने निर्णय लिएकी छन् ।

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा नेपालको संविधानको धारा २७६  बमोजिम राष्ट्रपतिले जरिबानामा माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    वैशाख  ३० गतेको  स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई खर्च विवरण नबुझाएर जरिबानामा परेका जनप्रतिनिधिहरूले गत माघ २२ गते गृह मन्त्रालयमार्फत राष्ट्रपतिलाई मिनाहाका लागि अनुरोधपत्र पठाएका थिए ।

    यस्तै प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरूलाई पनि ज्ञापनपत्र बुझाइएको थियो । उनीहरुको आग्रहअनुसार मन्त्रिपरिषदबाटै सिफारिस भएर राष्ट्रपतिबाट यो निर्णय भएको हो ।

    गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई कानुनबमोजिम बुझाउनुपर्ने निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गर्ने सम्बन्धमा निर्वाचन आयोग गत भदौ ३१ मा  निर्णय गरेको थियो ।

    निर्वाचन खर्चको विवरण नबुझाएको कारण आयोगले १ लाख २३ हजार ६ सय ५० जना उम्मेदवारलाई कारबाही स्वरूप १ लाख ५० हजार देखि ७ लाख ५० हजारसम्म जरिबाना गर्ने निर्णय गरेको थियो ।

    तर आयोगको यो अन्तिम निर्णय उपर उम्मेदवारहरुको तर्फबाट स्थानीय तहका जनप्रतिनिधिहरूले नेपालको सामाजिक, भौगोलिक, राजनीतिक र शैक्षिक परिवेशलाई न्यायिक दृष्टिमा राखी व्यवहारिक एवं परिस्थितिजन्य समस्याको समाधान गर्न एक पटक पुनर्विचार गर्नका लागि आग्रह गरेका थिए ।

    जरिवाना नतिर्नेमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसमेत रहेका थिए । यससम्बन्धमा सर्वोच्च अदालतले समेत तत्काल जरिवाना नतिर्न अन्तरिम आदेश दिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार