काठमाडौँ — भक्तपुरको लोकन्थलीमा घरको जग खन्ने क्रममा नजिकको अर्को घरको पर्खाल भत्किएर पुरिँदा एक मजदुरको ज्यान गएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका ४ का २३ वर्षीय मञ्जय भनिने धर्मेन विकको आइतबार बिहान निर्माणाधीन घरको जग खन्ने क्रममा नजिकैको अर्को घरको पर्खाल भत्किएर पुरिँदा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी कुमारप्रसाद मैनालीले जानकारी दिए ।
निर्माण मजदुर विक मध्यपुरथिमि नगरपालिका १, लोकन्थली खरिबोट बासुकी कोलोनी नजिकै आइतबार बिहान करिब साढे ८ बजे तुलसीप्रसाद गौतमको बन्दै गरेको घरको जग खनिरहेका थिए ।
त्यही बेला सँगै जोडिएको रामप्रसाद ओलीको घर कम्पाउन्डको ढुंगा र इटाको पर्खाल भत्किएर उनलाई पुरेको थियो । उनी पुरिएको थाहा पाएपछि घटनास्थल पुगेको प्रहरीसहित स्थानीयले उनको उद्धार गरी उपचारका लागि गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचारका लागि पुर्याएका थिए । उनको उपचारकै क्रममा बिहान १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस