काभ्रेपलाञ्चोक । प्रहरीले अवैध रूपमा बैंक खाताबाट रकम चोरी गरेको आरोपमा काभ्रेको १ जना सहित ७ जनालाई पक्राउ परेको छ ।
पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगर–१६ नगवाका २१ वर्षीय राजनारायण चौरासिया, वडा नम्बर १९ केहुनी विन्दावासनीका २१ वर्षीय महम्द मुस्तुफा हवारी, दोलखा वैदेश्वर गाउँपालिका–५ सिमबारी टोलका २९ वर्षीय सुन्दर खड्का, काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–९ पिङगोलाका १९ वर्षीय महेश थापा, उदयपुर रौउतामाई गाउँपालिका–२ भुट्टारका २० वर्षीय केवल रास्कोटी, सिरहा मिर्चैया नगरपालिका–८ भगवानपुरका १९ वर्षीय दीपे सदा र २३ वर्षीय श्रवण दास रहेका छन्।
रौतहटको वृन्दावन नगरपालिका–३ निवासी रामेश्वरराय यादवको माछापुच्छ्रे बैंक चन्द्रनिगाहपुर शाखाको खाताबाट जेठ ५ गते गैरकानुनी रूपमा ९ लाख ट्रान्सफर गरेको आरोपमा उनीहरू पक्राउ परेको हुन् । उनीहरूलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।
यादवको माछापुच्छ्रे बैंकको खाता नम्बर ०७५००६५३८२८०००१४ मा रहेको ९ लाख रकम जेठ ५, ६ र ७ गते दैनिक ३ लाखका दरले अन्य बैंकको खाता र खल्ती सेवामा अनधिकृत रूपमा रकम ट्रान्सफर गरी ठगी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
प्रहरीले उनीहरूको साथबाट ६ थान मोबाइल, विभिन्न व्यक्तिको विभिन्न बैंकको १५ थान एटीएम कार्ड, मोटरसाइकल १ थान र ६६ हजार नगद बरामद गरेको हो।
प्रतिक्रिया दिनुहोस