काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टीका तफर्बाट सांसद निर्वाचित असिम शाहले एक दिन संसद् चल्नको लागि १० लाख खर्च हुने गरेको बताउनु भयो ।
पाँचखाल नगरपालिका वडा नं ६ तिनपिप्ले मा आयोजित वडा विस्तार भेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि सांसद शाहले उक्त धारणा राख्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि शाहले थप्नुभयो — संसद् बस्दा दैनिक १० लाख खर्च हुन्छ‚ ठोस निर्णय गर्नु भन्दापनि कर्मकाण्डी तरिका अपनाएर धेरै दिन लगाएर खर्च बढाएको आरोप लगाउनु भयो । काभ्रे र पाँचखालको समस्यालाई संसद्मा बुलन्द गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
समय लम्ब्याउन तथा बजेट भोटिङ्गको लागि पशुपतिमा जलहरीको इस्यु उठाएको बताउनु भयो । भित्री रुपमा बजेटको सेटिङ् मिलेपछि जलहरी ओझेलमा परेको बताउनु भयो । राष्ट्रिय स्वतन्त्र पार्टीका २१ जना सांसदहरुले संसद् हल्लाएका छौं । हाम्रो काम गर्ने तौर तरिका साथै संसदमा हुने प्रस्तुतिहरू देखेर पुराना दलहरू अताल्लिएका छन् संसद् शाहले भन्नुभयो ।
कार्यक्रममा पूर्व डीआईजी रमेश खरेलले उर्वरा भूमिको रुपमा परिचित पाँचखाल र आसपासका कृषकहरूले उत्पादन गरेको तरकारीले बजार नपाउँदा समस्या भएको छ । स्थानीय सरकारले कृषकहरूले उत्पादन गरेको तरकारीहरूको उचित मूल्य तोकेर खेत बारीमै भुक्तानी दिने वातावरण बनाउन जरुरी रहेको बताउनु भयो ।
शीर्ष नेताहरूको संज्ञा दिएर सम्मान गर्ने गरेको छ ‚ सो कार्य गलत हो । यिनीहरू सिर्ष नेता हैनन् शीर्ष ठगहरू हुन‚ यस्तालाई विस्थापित गर्नु पर्ने खरेलले बताउनु भयो । मुलुकको यावत समस्या समाधानको लागि राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढेको छ त्यसैले ०८४ मा एक पटक पूर्ण रुपमा साथ दिनोस् । रास्वपाले पनि जनतालाई झुक्याउने काम गरेमा विस्थापित गर्न सुझाव दिनुभयो ।
कार्यक्रमका सभापति एवं रास्वपा पाँचखाल नगरका सभापति नविन प्रकाश निरौलाले पाँचखालमा रहेका बेथितिहरूको अन्त्य गर्नको लागि रास्वपा अगाडि बढेको बताउनु भयो । उहाँले थप्नुभयो पाँचखालको स्वास्थ्य‚ शिक्षा‚ रेडक्रसमा निकै बेथितिहरू छन् त्यसलाई व्यवस्थित गर्ने छौं । रेडक्रस जस्तो पवित्र संस्थाको कार्यालयको ढोका ७ महिना सम्म खुल्दैन‚ करोडौँको लगानी भएको विद्यालयमा २१ जना शिक्षकहरू छन् तर विद्यार्थी १०० जना । प्राथमिक स्वास्थ्य केन्द्रले गुणस्तरीय सेवा नदिदा समस्यामा परेको छ । पाँचखालमा धेरै बेथितिहरू छन् त्यसको अन्त्य हामी क्रमश गर्छौ ।
नवीन प्रकाश निरौलाको सभापतिमा सम्पन्न उक्त कार्यक्रममा रमेश ढुङ्गानाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा रास्वपा जिल्ला सभापति प्रविण ढकाल‚ बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँ‚ काभ्रे क्षेत्र नं २ सदस्यहरू जीएन सापकोटा र तारा बहादुर कुँवर मन्दिरा खरेल लगायतका वक्ताहरूले आ—आफ्नो धारणा राख्नुभएको थियो । वडा स्तरीय भेलाबाट जगत लाल राजवाहकको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको छ ।
प्रतिक्रिया दिनुहोस