२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

काभ्रेपलाञ्चोकको ४ गाउँपालिका, अन्तरपालिका समन्वय मार्फत अगाडि बढ्ने


८८१५ पाठक संख्या
  • २०८० कार्तिक १६, बिहिबार मा प्रकाशित १0 महिना अघि
  • काभ्रे । काभ्रेको क्षेत्र नं. १ अन्तर्गत रहेको ४ गाउँपालिका विच विभिन्न ९ बुँदे साझा विषयमा अन्तरपालिका समन्वय मार्फत अगाडि बढ्ने निर्णय गरेका छन् ।

    काभ्रे रोशी गाउँपालिका, खानीखोला गाउँपालिका, वेथानचोक गाउँपालिका र महाभारत गाउँपालिका गाउँपालिका बीचको अन्तरपालिका समन्वयको बुधवार बसेको सयुक्त बैकठले पर्यटन पूर्वाधार, भौतिक पूर्वाधार, विपद व्यवस्थापन, साझेदारी कार्यक्रम, शिक्षा÷स्वास्थ्य (प्राविधिक शिक्षा), अन्तरपालिका भौगोलिक सिमाना सम्बन्धमा र साझा प्राकृतिक श्रोतको उपयोग, व्यवस्थापन तथा संरक्षण अन्तरपालिका समन्वय मार्फत अगाडि बढ्ने निर्णय गरेका छन् ।

    यस्तो छ निर्णय
    निर्णय नं १, अन्तरपालिका विकास निर्माण, सेवा प्रवाह र असल अभ्यासको आदान प्रदान गर्न अन्तरपालिका बैठक आवधिक रुपमा सञ्चालन तथा व्यवस्थापन गर्ने ।

    निर्णय नं २, रोशी गाउँपालिका, खानीखोला गाउँपालिका, वेथानचोक गाउँपालिका र महाभारत गाउँपालिकाभित्रका जनताहरुको आय स्तरमा बृद्धि गरी सम्बुद्ध पालिका निर्माणका लागि पर्यटकीय गन्तव्यको वेथानचोक पहिचान र संरक्षण गरी एकिकृत पर्यटन पूर्वाधार विकासका लागि महाभारत ट्रेल (पर्यटन पदमार्ग), नारायणस्थान, तिनतले झरना, शिव पार्वती गुफा, कपेर महाँकाल, तिलेश्वर पर्यटन क्षेत्र, तारखसे लेक, घ्याङलेक, चैतेपानी तथा भुमेचुली पर्यटन क्षेत्रको पूर्वाधार निर्माण, व्यवस्थापन र प्रवर्द्धनमा संयुक्त लगानी गर्न एकिकृत कार्ययोजना निर्माण गरी कार्यान्वयनमा प्रभावकारी पहल गर्ने, थप बजेट व्यवस्थापनका लागि प्रदेश र संघीय सरकार समक्ष पहल गर्ने ।

    निर्णय नं ३, रोशी गाउँपालिका, वेथानचोक गाउँपालिका र महाभारत गाउँपालिकालाई समेट्ने गरी जनमुक्ति मार्ग निर्माणका लागि संयुक्त पहल गर्ने र चारवटै गाउँपालिकाभित्र पर्ने विभिन्न सडक, पुल, सिंचाई तथा भवन लगायतका भौतिक पूर्वाधार निर्माणसँग सम्बन्धित आयोजनाहरु कार्यान्वयन गर्दा अन्तरपालिकाहरुवीच आवश्यक समन्वय, सहकार्य र समझदारी कायम गरी संयुक्त रुपमा बजेट विनियोजन गर्ने र देहायका पूर्वाधार विकासका लागि थप बजेट व्यवस्थाका गर्न समेत प्रदेश तथा संघीय सरकार समक्ष संयुक्त पहल गर्ने ।
    क) चौकीडाँडा–सिपाली–महाभारत सडक सञ्जाल
    ख) खोपासी–च्याम्राङवेशी–तालढुंगा सडक
    ग) खोपासी–च्याम्राङवेशी–सुकुमफेदी–फापरवारी सडक
    घ) फलामेसाँघु–ताराखसे लेक–महाभारत सड़क
    ङ) फलामेसाँघु–तिनधारे–झरना–खानीखोला सडक
    च) फलामेसाँघु–महाँकाल भुग्देउ–कामीडाँडा सडक

    निर्णय नं ४ रोशी गाउँपालिका, खानीखोला गाउँपालिका, वेथानचोक गाउँपालिका र महाभारत गाउँपालिकाभित्रका विभिन्न स्थानमा निकट भविष्यमा आउन सक्ने सम्भावित प्राकृतिक ÷ गैर प्राकृतिक तथा मानव स्वास्थ्य तथा पशुजन्य विपद तथा अन्य प्रकारका प्रकोपहरुको पहिचान गरी सोको न्यूनिकरण तथा व्यवस्थापनका लागि चारवटै पालिकाले एकिकृत कार्ययोजना बनाई कार्यान्वयन गर्ने र विपद्जन्य घटनाहरुको न्यूनिकरण रोकथाम, उद्दार तथा व्यवस्थापनका कार्य गर्नका लागि पालिकासँग रहेका जनशक्ति, मेशिनरी औजार र सवारी साधनहरुको आवश्यकता वमोजिम आपसी रुपमा सहयोग तथा परिचालन गर्ने ।

    निर्णय नं ५, उच्चतम प्रतिफल प्राप्त गरी राष्ट्रिय लक्ष्य अनुरुप जनताको जीवनस्तर उकास्नका लागि चारवटै गाउँपालिकाको साझा योजना तथा कार्यक्रम पहिचान गर्ने, सोको प्रभावकारी कार्यान्वयनका लागि संयुक्त लगानी गर्ने र थप बजेटका लागि सम्बन्धित निकायमा संयुक्त पहल गर्ने। साथै पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, विपद व्यवस्थापन, खानेपानी तथा सरसफाई एवं कृषि ÷ भेटेरेनरी लगायतका कार्यक्रमहरु आवश्यकता अनुसार संयुक्त रुपमा सञ्चालन गर्न पहल गर्ने र पालिका स्तरका असल अभ्यासहरु एक अर्कामा आदान प्रदान गर्ने ।

    निर्णय नं ६, पालिकाहरुको समन्वय एवं साझेदारीमा लक्षित कार्यक्रमहरु (प्राविधिक शिक्षालय, अपाङ्गता ग्राम, अन्य आवश्यक सामाजिक तथा आर्थिक विकाससँग सम्बन्धित) सञ्चालनका लागि सम्बन्धित निकायमा संयुक्त पहल गर्ने ।

    निर्णय नं ७, चारवटै पालिकाको भौगोलिक साँध सिमानाका सम्बन्धमा उत्पन्न असमझदारीहरुको पहिचान गरी सह–अस्तित्वको भावना अनुरुप एक आपसमा समन्वय, सहकार्य र समझदारी पूर्वक समाधानका लागि पहल गर्ने ।

    निर्णय नं ८, रोशी गाउँपालिका, महाभारत गाउँपालिका, वेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिकाको साझा प्राकृतिक श्रोतको पहिचान गरी उच्चतम उपयोगका लागि आवश्यक समन्वय र सहकार्य गर्दै त्यसको व्यवस्थापन तथा संरक्षणमा जोड दिने ।

    निर्णय नं ९, (क) जनमुक्ति मार्गको गोकुले – तालढुंगा – भोर्लेनी सडक खण्ड र पिन्थली– रजवास भुमेचुली सडक खण्डको निर्माण कार्यका लागि आवश्यक पहल गर्ने।

    (ख) महाभारत ट्रेल (पर्यटन पदमार्ग) को वेथानचोक ताराखसे लेकसम्मको ठेक्का प्रक्रियाका लागि आवश्यक पहल गर्ने ।

    बैठकमा रोशी गाउँपलिका अध्यक्ष दिनेश लामा, खानीखोला गाउँपालिका अध्यक्ष ईन्द्र बहादुर थिङ, वेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, महाभारत गाउँपालिका अध्यक्ष कान्छा लाल जिम्बा, रोशी गाउँपालिका उपाध्यक्ष मिम बहादुर वाईवा, महाभारत गाउँपालिका उपाध्यक्ष सागर मोक्तान, खानीखोला गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बा, वेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना, रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङ रोशी गाउँपलिका प्रवक्ता बसन्त कुमार लामा, बेथानचोक गाउँपालिका प्रभक्ता मधुसुदन तिमल्सिना, वडा अध्यक्ष पुरुषोत्तम तिमल्सिना उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु