काभ्रेपलाञ्चोक ।काभ्रेपलाञ्चोक जिल्लाकाे बेथान्चोक गाउँपालिका वडा नम्वर ३ स्थित बोझाघारी फाँटमा गाउँपालिका अध्यक्ष भगवान अधिकारी र उपाध्यक्ष तारा रानाले लिफ्टिङ्ग सिंंचाईकाे उदुघाटन गरेका छन् । युरोपेली राष्ट्र लक्जम्बरको एईआईएन नेपालको आर्थिक सहयोगमा संचालित सिंचाई आयोजना ग्रामिण विकास संस्थाको प्राविधिक सहयोग र समुदायको सक्रियतामा निर्माण भएको साे सिंचाइकाे उद्घाटन आज सम्पन्न भएकाे हाे ।
६४ घर धुरीका ४ सय ३० जना प्रत्यक्ष लाभान्वित भएको उक्त सिंचाई आयोजनाबाट २ सय ८५ रोपनी जमिनमा सहज रुपमा सिंचाई पुग्नेछ भने सिंचाई परियोजना सम्पन्न हुँदा ३७ लाख १३ हजार ३ सय ९२ रुपैया खर्च भएको छ ।
कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष अधिकारीले आयोजना निर्माण गरी संचालनमा आएकोमा धन्यवाद र बधाई दिदै नियमित ब्यवस्थापन र दिगोपनामा समुदायले ध्यान दिन अनुरोध गरे । उक्त आयोजनाले कृषकहरुलाई उत्पादन बृद्धी र ब्यवसायीकरणमा थप सहयोग पुग्ने बताए । बेथान्चोक गाउँपालिकाका विभिन्न वडामा विभिन्न क्षेत्रबाट लिफ्टिङ्ग सिंचाई शुरु भएको अध्यक्ष अधिकारीले बताए । गाउँपालिकाका सबै जमिनहरुमा सिंचाई गर्न सहज पु¥याउन गाउँपालिकाले आवश्यक सहजिकरण गरिरहेको उनले बताए ।
यसैबीच कार्यक्रममा उपाध्यक्ष तारा रानाले कृषिमा आधुनिकिकरण, बैज्ञानिकीकरण र प्रविधीकरण गर्न सिंचाई महत्वर्पूण भएको बताईन् । ‘कृषिका लागि सिंचाई रक्तसञ्चार जस्तै हो’–उपाध्यक्ष रानाले भनिन–‘कृषिको रक्त संचार कृषकहरुको जीवन स्तर उकास्ने रक्तसंचार हो । यसलाई अझै ब्यवस्थित र दिगोपना दिन हामी सबैको उत्तिक्कै समन्वय र सहयोग आवश्यक छ ।’
कार्यक्रममा ग्रामिण विकास संस्थाका कार्यकारी निर्देशक डिएन तिमल्सिना, गाउँपालिकाका पुर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिना, समितिका अध्यक्ष कृष्णप्रसाद तिमल्सिना, सचिव रामहरी तिमल्सिना, एईआईएन नेपालका प्रतिनिधीहरु, वडा सदस्यहरु, उपभोक्ताहरु, संस्थाका सल्लाहकारहरु बलराम तिमल्सिना, अर्जुन श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस