२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

महिला हत्याको अभियोगमा युवा पक्राऊ


४१८७ पाठक संख्या
  • २०८१ श्रावण ५, शनिबार मा प्रकाशित १ महिना अघि
  • पोखरा । निलो रंगको नर्थ फेसको ज्याकेट लगाएका युवकले होटलको रिसेप्सनमा आफ्नो नाम लेखाएका थिए– राजन गुरुङ ।  त्यही दिन केही समयअघि साथीलाई भेट्न जान्छु भनेर एक महिला नजिकैको शिला रेष्टुरेण्टबाट अन्य साथीबाट बिदा भएकी थिइन् भने त्यसपछि उनी ‘राजन गुरुङ’ ले बुक गरेको २०२ नम्बर कोठामा पुगेकी थिइन् ।

    तिनै महिला अर्थात  तनहुँकी ३८ वर्षीया सुकु विक पोखराको नागढुंगास्थित युनिक होटलको कोठा नम्बर २०२ मा गत मंसिर ५ मा मृत भेटिइन् । त्यतिबेला घटनाको प्रकृति हेर्दा हत्या नै भएको निष्कर्षमा पुग्यो प्रहरी । पोस्टमार्टमबाट पनि हत्या भएको रिपोर्ट आयो ।

    तर अनुसन्धान गर्ने बलियो प्रमाण भेटिएन । प्रहरीले होटल सञ्चालकलाई लगेर थुन्यो । अनुसन्धानबाट हत्यामा सञ्चालकको संलग्नता देखिएन र उनी छुटे । सञ्चालक र सुकुलाई चिनेकाहरूले उनी युनिक होटलमा अन्दाजी ३० वर्षका पुरुष व्यक्तिसँग बसेको भनेर जानकारी गराएका थिए ।

    होटलमा दुवै जनाको वास्तविक परिचय खुलाइएको थिएन । न त सीसीटिभी क्यामेरा थियो ।  हत्यापछि सुकुका परिवारले प्रहरीमा जाहेरी दिएका थिए । परिवारको जाहेरीमा मृतकको सुन र मोबाइल पनि हराएको विवरण थियो ।

    सामान्य दसी प्रमाण पनि नभएको ठाउँबाट हत्यारा पत्ता लगाउने कुरा चानचुने थिएन । त्यसपछि प्रहरीले हराएको भनिएको मोबाइल (आइफोन १३ प्रो म्याक्स) ट्र्याक गर्न थाल्यो । खोजतलास गर्दै जाँदा हराएको भनिएको मोबाइल महोत्तरी बर्दिबास नगरपालिका ७ का २६ वर्षीय राजेश बुढाथोकीसँग भेटियो । त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौँको टोलीले राजेशलाई नियन्त्रणमा लिएर केरकार गर्न थाल्यो ।

    उनले सञ्जय विक नाम गरेका व्यक्तिबाट ४० हजार ५ सयमा खरिद गरेको बयान दिए । होटलमा राजन गुरुङ लेखाउने उनै सञ्जय बागलुङ गलकोट नगरपालिका ९ का भएको खुल्यो । त्यसपछि प्रहरीले सञ्जयलाई खोज्न थाल्यो ।

    ‘मुख्य लिङ्क राजेश नै भए । अनुसन्धान लगभग नजिक पुगिसकेको थियो,’ कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले भने, ‘खोज्दै जाँदा मोबाइल बेच्ने सञ्जय र सुकुलाई होटलमा लैजाने व्यक्ति एउटै भएको खुल्यो ।’ निलो रंगको ज्याकेट सञ्जयकै कोठाबाट बरामद भयो ।

    ‘नर्थफेस लेखेको ज्याकेट र अर्को मोबाइल उनको कोठाबाट बरामद भयो । उनले मोबाइलमा सुकु विकको मोबाइल नम्बर स्क्रिन सट गरी राखेका रहेछन्,’ थापाले भने, ‘बेचिएको आइफोन मोबाइल समातेर फोटो खिचेको तस्बिर पनि भेटियो । त्यसपछि हत्यामा संलग्न उनै सञ्जय हुन् भन्ने क्लियर भयो ।’

    प्रहरीले सबै खुलेपछि कास्की जिल्ला अदालतबाट गत पुसमै उनी विरुद्ध पक्राउ पुर्जी जारी गराएको थियो । घटनाअघि सञ्जय पोखरा ७ घारी पाटनमा परिवारसहित डेरा लिएर बस्थे । तर घटनापछि श्रीमती र छोरालाई छोडेर फरार थिए ।

    ‘बीचमा पुनः कास्की आएको जानकारी पाएका थियौँ । तर समात्न सकिएन । इन्डिया पनि पुग्यो,’ एसपी थापाले भने, ‘पछि भारतबाट फर्किएर गैँडाकोट १२ हर्कपुरमा लुकीछिपी बसेको सूचना पाएपछि त्यहीबाट साउन २ गते पक्राउ गरिएको हो ।’

    ३ कक्षा पास गरेका सञ्जयले यसअघि २०७२ असार १९ गते कास्की प्रहरीबाट चोरी मुद्दामा जेल सजाय भोगेका थिए भने २०७३ भदौ १ गते अभद्र मुद्दा लागेको थियो । आपराधिक मानसिकताकै भएका कारण घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

    ‘कुनै साथीले सुकुलाई चिनाइदियो । होटलमा पुगेर सिक्री र मोबाइल देखेपछि हत्या भएको हो । आपराधिक मनोवृत्तिको मान्छे रहेछ,’ अघि थपे, ‘घटना अझै अनुसन्धानकै क्रममा छ ।  त्यहाँ बिहे गर्ने कुरा पनि भएको रहेछ । बिहे गरौँ भनेको र नमानेको भन्ने छ । बुझ्दै छौँ ।’ सञ्जयले मृतकको सुनको सिक्री र मुन्द्रा पोखरामै बेचेका थिए । उनले सुन बेचेका पसलेलाई समेत प्रहरीले पक्राउ गरेको छ ।स्रोत रातोपाटी

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु