२०८१ फागुन २८, बुधबार | Wed, 12, Mar, 2025

अहिले हामी समाजवादी क्रान्तिको तयारीको चरणमा छौं—प्रचण्ड


३३०३ पाठक संख्या
  • २०८१ माघ २६, शनिबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको सङ्कल्प गर्ने बेला आएको बताउनु भयो ।

    माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको आयोजना धुलिखेलमा भएको राजनीतिक वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै उहाले उक्त धारणा राख्नुभएको हो ।

    माओवादी केन्द्रको हाल देशभरी भइरहेका भेला र प्रशिक्षणहरुलाई समाजवादी क्रान्तिकै तयारीको रुपमा बुझ्नुपर्ने छ । ‘हामीले जनयुद्धको तयारी गर्दा पनि यसरी नै देशभरी भेला र प्रशिक्षण गरेका थियौं’–‘अहिले हामी समाजवादी क्रान्तिको तयारीको चरणमा फेरि त्यस्तै कार्यक्रमहरु गरिरहेका छौं, यो हामीले समाजवादी क्रान्तिको संकल्प गर्ने बेला हो ।’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

    कार्यक्रममा अध्यक्ष प्रचण्डले थप्नुभयो—जनयुद्ध गर्नुअघि माओवादी शक्तिलाई बिरोधीले नपत्याएको स्मरण गर्दै स्पष्ट विचार, सिद्धान्त र कार्यक्रमका आधारमा जनयुद्ध अघि बढाएकाले देशकै प्रमुख शक्तिको रुपमा स्थापित हुन सफल भएको होे । ‘पछिल्लो शान्तिकालमा हामी कतै लरबरायौं, अलिकति सुधारवाद र उदारवादमा हरायौं, जसले गर्दा हाम्रो आफ्नै वर्गले पनि क्रान्तिका बाँकी सपना अधुरै रहन हुने कि भन्ने आशंका गर्न थाले’ । ‘तर, अहिले हामीले गम्भीर आत्मसमीक्षा गरेका छौं, भर्खरैको केन्द्रीय समिति बैठकपछि हामीले सुधारवाद र उदारवाद होइन, बामपंथ र क्रान्तिकारी लाइन दह्रोसँग पकड्ने सङ्कल्प गरेका छौं, यही नै हाम्रो समाजवादी क्रान्तिप्रतिको सङ्कल्प हो ।’

    शान्ति सम्झौता गरेर पार्टी बहुदलीय प्रतिष्पर्धामा आएपछि दायाँ र बायाँ गर्दै अघि बढ्ने क्रममा माथिदेखि तलसम्म नेता कार्यकर्ताहरु बढी नै दायाँतिर ढल्कन थालेको यथार्थ बोध गरेर नै अब पार्टीलाई बायाँतिर अघि बढाउने नीति र कार्यक्रम अघि सारिएको हो । जनयुद्धको उत्कर्ष चरणमा भएको चुनबाङ बैठकको निर्णय स्मरण गराउँदै ‘हामीले त्यतिबेला स्पष्ट भनेका थियौं– अब गणतन्त्र आउँछ, यसका लागि बुर्जुवाहरुसँग सम्झौता गर्नुपर्ने पनि हुनसक्छ तर त्यो गणतन्त्रलाई बर्जुवाहरुले आफ्नो अनुकूलको गणतन्त्र बनाउने प्रयास गर्ने छन् र हामीले समाजवादी गणतन्त्र बनाउने प्रयास गर्ने छौं । अहिले हामी यही संघर्षको विन्दुमा आइपुगेका छौं ।’

    शान्ति प्रक्रिया र संविधान लेखनहुँदै यहाँसम्म आइपुग्दा विभिन्न सफलता र कमजोरीका बीच एउटा कालखण्ड पार गरिसकेका छौं । सम्पूर्ण रुपमा समाजवादी क्रान्तिको चरणमा अघि बढ्ने छौं । जनयुद्धको थालनी, जनयुद्ध सञ्चालन, शान्ति सम्झौता, संविधानसभाको निर्वाचन, गणतन्त्र घोषणा जस्ता युगान्तकारी निर्णय गर्ने अवसर पाउने माओवादी मात्रै एक मात्र शक्ति भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिको थालनी पनि माओवादीले नै गर्ने ठोकुवा गर्नुभयो ।

    ‘अब भाषण गरेर प्रशिक्षण दिएर मात्रै रुपान्तरण संभव हुने देखिएन’ , ‘त्यसैले यो काम अब नेतृत्वबाट नै सुरु गर्नुपर्छ भनेर म पूरै आत्मसमीक्षा सहित देशभरी नेता कार्यकर्ता र जनताको बीचमा पुग्ने अभियानको थालनी गरेको छु । मैले एक चरण यो अभियान पूरा गरेपछि अब लगत्तै सिंगो पार्टी एकैसाथ देशभरी परिचालित हुने छ, रुपान्तरणको नयाँ अभियान अघि बढ्ने छ ।’ समाजवादी क्रान्तिकै लक्ष्यसहित आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिको मूल बाटो तय गर्दै भ्रष्टाचार विरुद्धको महाअभियान सुरु गरेको छ । ‘म आज तपाईहरुलाई आत्मविश्वासका साथ भन्न सक्ने अवस्थामा उभिएको छु, हामीले सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान नै समाजवाद निर्माणको भ्रुण थियो’ । ‘हामीलाई कांग्रेस एमालेभन्दा फरक हो भनेर जनताले सजिलो गरी बुझ्ने अभियान पनि यही हो र पार्टीको अबको बाटो पनि यही हो ।’

    यही सङ्कल्प नै अहिले जनतामा आशाको दियो बाल्ने, पार्टी पुनर्निर्माण गर्ने र नेता कार्यकर्ताहरुमा रुपान्तरणको आत्मविश्वास बढाउने प्रारम्भिक विन्दुको रुपमा स्थापित हुन पुगेको छ । ‘हामी प्रतिष्पर्धाकै बाटोबाट समाजवादी क्रान्तिको नेता पार्टी माओवादीलाई बनाउँछौं, तपाईहरु हरेक क्षेत्रमा देखिने बेथिति र भ्रष्टाचारका विरुद्ध दृढतापूर्वक उभिनुस्’ ‘हामी सबै नेता कार्यकर्ताहरु रुपान्तरण भएर जनताको बीचमा जाऔं, फेरि पनि जनताको एकताको तागतको बलमा हामी विजयी हुन्छौं ।’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

    नेकपा माओवादी केन्द्र काभ्रेपलाञचोक संयोजक भोला अर्यालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अन्य विन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गर्नेहरुलाई स्वागत गरिएको थियो । तेमाल गाउँपालिकाबाट रावणजी तामाङको नेतृत्वमा २१ जना, धुलिखेल नगरपालिकाबाट भीमबहादुर मोक्तान, वीरबहादुर घिसिङसहित २५ जना र रोशी गाउँपालिकाबाट जोवान लामासहित दर्जनौ व्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश भएका थिए ।

    माओवादी केन्द्र काभ्रेजिल्ला सचिव दैवलाल घिसिङ द्वारा संचालित कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय उपाध्यक्ष एवं प्रचार बिभाग प्रमुख अग्नि सापकोटा , नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं संघिय सांसद सुर्यमान दोङ , नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं संविधान सभा सभासद तेज वहादुर मिजार लगायतका व्यक्तित्वहरुले आ—आफ्नो धारणा राख्नुभएको थियो ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार