काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा केन्द्रिय कार्यालय रहि जिल्लाको प्रमुख व्यापारिक केन्द्र बनेपा र कृषिको उर्वरभूमिको रुपमा परिचित मण्डनदेउपुर नगरपालिकामा शाखा कार्यालय रहि आफ्नो सेवा प्रदान गर्दै आएको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्यहरूलाई स्वास्थ्य उपचारमा सुविधा दिने भएको छ ।
२०६१ सालमा शेयर सदस्यहरूको हित साथै सामाजिक कार्यमा समेत योगदान पुर्याउने प्रमुख उद्देश्यका साथ स्थापना भएको सहकारी शेयर सदस्य र वाल सदस्य गरी १५ हजार रहेका छन् । पछिल्लो समयमा स्वास्थ्य उपचारमा ठुलो धनराशि खर्च हुँदै गएको अवस्थामा संस्थाका शेयर सदस्यहरुको हितको खातिर उपचारमा छुट व्यवस्था गर्नको लागि आज ( बुधवार ) काभ्रेको जेठो अस्पतालको रुपमा परिचित शिर मेमोरियल अस्पतालसँग सम्झौता भएको छ ।
अस्पतालको तफर्बाट प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर जि गायारिस र आर्थिक ( लेखा ) प्रमुख सूर्य प्रभा शाक्य साथै सहकारी संस्थाको तफर्बाट संस्थाका प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारी र संस्थाका स्वास्थ्य उपसमिति संयोजक बेला लामाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । उक्त दुई पक्षीय सम्झौता अनुसार सहकारीका शेयर सदस्यहरूका लागि सम्पूर्ण उपचारमा १० प्रतिशत साथै औसधिमा ५ प्रतिशत छुट गर्ने सहमति भएको छ । सदस्यहरूले सो अस्पतालमा उपचार गर्न जाँदा सदस्यताको प्रमाण खुल्ने कुनैपनि कागजातको साथमा जानुपर्ने छ ।
त्यसैगरी संस्थाको प्रमुख कार्यालय रहेको स्थानमै सदस्यहरूको उपचारमा सुविधा दिने उद्देश्यले पाँचखाल नगरपालिका वडा नं ४ मा रहेको पाँचखाल पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर प्रालिसँग भएको दि पक्षीय सम्झौता अनुसार आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्यहरूको उपचारमा सुविधा दिने सहमति भएको छ । २०८० साल चैत्र ६ गते भएको सम्झौता अनुसार औषधी तथा दन्त सेवामा १० देखि २० प्रतिशत सम्म ‚ ल्याब परिक्षण ‚ एक्से्र तथा फिजियोथेरापीमा २० प्रतिशत ‚ होलवडिमा ४० प्रतिशत छुट दिने सहमति भएको छ ।
शेयर सदस्यहरूको उपचारमा दुई स्थानबाट छुटको व्यवस्था सहित उपचारको व्यवस्थाले समयमा उपचारको साथै अक्कालमा ज्यान गुमाउनु पर्ने वाध्यात्मक अवस्थाबाट जोगिने संस्थाका प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारीले जानकारी गराउनुभयो । उहाँले थप्नुभयो संस्थाले विगतबाटै शेयर सदस्यहरूको स्वास्थ्यमा कुनैपनि समस्या आउन नदिनको लागि समय समयमा निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छौं । सो सेवाले उपचारको पहुँच नपुगेका बस्तीका स्थानियहरुमा समेत सहज भएको छ ।
प्रतिक्रिया दिनुहोस