दमक, चैत ७ गते । झापामा एक सहकारी संस्थाका कर्मचारीलाई करिब साढे ३ करोड ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । हाम्रो नेपाल सहकारी संस्था लिमिटेडका शिवगञ्ज सेवाकेन्द्रका प्रमुख जीवन भुजेललाई सहकारीको उजुरीमा नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र खड्काका अनुसार केही दिन अघि पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ । भुजेलले ३ करोड ३५ लाख ४ सय रुपियाँ हिनामिना गरेको आरोप सहित सम्बन्धित सहकारीले उजुरी दिएपछि आवश्यक छानबिनका लागि पक्राउ गरिएको उहाँले जनाउनु भएको छ ।
२८ वर्षीय भुजेलले सहकारीको सम्पत्ति, बचत तथा ऋण हिनामिना गरेको उक्त सहारीका एक सञ्चालकले बताउनु भएको छ । बारम्बार रुपमा उक्त ब्यवहार मिलाउन समय दिदा पनि अटेर गरेपछि उजुरी गरेर पक्राउ गर्नु पर्ने अवस्था आएको पनि सहकारी संस्थाका ति सञ्चालकले बताउनुभयो ।
सहकारीको मुख्य कार्यालय झापाको बिर्तामोडमा रहेको छ । सहकारीले उजुरी दिएपछि भुजेललाई चैत ३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र खड्काले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस