रुकुमपश्चिम, चैत ८ गते । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो चौरजहारी नगरपालिका–१ मा लु. प्र. ०३–००१ क ००२७ नम्बरको मिनि ट्रकले बोकेको मार्वल र सिमेन्टले च्यापिएर ट्रकमै बसेका दुई कामदारमध्ये एक कामदारको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार मृत्यु हुनेमा डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–१ का २४ वर्षीय देवचन्द्र सार्की रहेका छन् । सोहि नगरपालिका –६ का २१ वर्षीय मन्दिर सार्की भने घाइते रहेको उहाँले बताउनुभयो ।
घटना लगत्तै दुवै जनालाई उपचारको लागि चौरजहारी अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकले देवचन्द्रलाई मृत घोषणा गरेको र घाइते मनविरको उपचार भइरहेको बताइएको छ । मनविरको हातमा चोट लागेको छ ।
दुबै मजदुरहरु ट्रकसँगै नेपालगञ्जतर्फबाट आएको बताइएको छ । उनीहरु एन स्काई कम्पनीमा लेवरको रुपमा कार्यरत रहेको बुझिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त ट्रकको पछाडिको भागमा मार्वलसँगै दुई कामदारहरु चढेका थिए । मार्वल ट्रकको वरिपरीको भागमा बाँधेर ल्याईएको र मोडमा मार्वल बाँधेको डोरी चुडिएपछि बिचमा बसेका दुई मजदुर च्यापिएका थिए ।
घटनापछि इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको छ भने सुर्खेतको गुर्भाकोट नगरपालिका ११ निवासी चालक विकास सुनार फरार रहेका छन् । चालकको खोजी भईरहेको र घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस