२०८१ चैत्र १४, बिहिबार | Thu, 27, Mar, 2025

चौंरीदेउरालीमा जलवायु परिवर्तन विषय पाठ्यक्रममा समावेश गरिने


२९१३ पाठक संख्या
  • २०८१ चैत्र १२, मंगलबार मा प्रकाशित २ दिन अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाकोे चौरीदेउराली गाउँपालिकाले जवायु परिवर्तन सम्बन्धी विषय स्थानीय पाठ्यक्रममा समावेश गर्ने भएको छ ।

    गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईंले जलवायु परिवर्तन अनुकूलन योजना तथा विपद् व्यवस्थापनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सम्बन्धि विशेष छलफलको क्रममा उक्त जानकारी गराउनु भएको हो ।

    ‘गाउँपालिकाले जलवायु परिवर्तनसम्बन्धी विषयलाई स्थानीय पाठ्यक्रममा समावेश गर्ने निर्णय गरिसकेको छ । थप पाठ्यक्रमको आवश्यकता रहेको महसुस पनि गरेका छौं ।’ ‘विद्यालय तहमा जलवायु शिक्षालाई अनिवार्य रूपमा लागू गर्ने कार्ययोजना निर्माण भइरहेको छ । विद्यार्थीहरूलाई जलवायु संरक्षणका व्यावहारिक सिकाइहरूसँग जोड्ने उद्देश्यले विविध कार्यक्रमहरू अघि बढाइनेछ ।’ अध्यक्ष चौलागाईले बताउनु भयो ।

    गाउँपालिकाका जनप्रतिनिधि, सरकारी अधिकारी, शिक्षा तथा विपद् व्यवस्थापन समितिका सदस्यहरू, स्थानीय संघसंस्था तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा जलवायु परिवर्तनले निम्त्याएका चुनौतीहरू र तिनको समाधानका उपायहरूबारे विस्तृत छलफल भएको थियो । छलफलका क्रममा युवाहरूले जलवायु परिवर्तन सम्बन्धी विषयमा गाउँपालिकाको ध्यानाकर्षण गराउँदै विशेष पत्र बुझाइयो ।

    गाउँपालिका अध्यक्ष चौलागाईंले विद्यार्थीहरुको ध्यानाकर्षण पत्र बुझ्दै जलवायु परिवर्तनका असरहरू चौरीदेउरालीमा प्रत्यक्ष रूपमा देखापरेको बताउँदै अनुकूलन उपायहरू शीघ्र कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो । बाढी, पहिरो, सुख्खा तथा अनावृष्टि जस्ता प्राकृतिक विपद्ले स्थानीय जीवनमा गम्भीर असर पुर्याइरहेको हुँदा व्यवहारिक उपायहरू अवलम्बन गर्नुपर्ने उहाँको तर्क थियो । विपद् जोखिम न्यूनीकरण, स्थानीय स्रोत साधनको उचित उपयोग तथा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै संघीय सरकार, स्थानीय स्रोत र अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूसँग सहकार्य गरेर आवश्यक बजेटको व्यवस्थापन गरिने छ । अध्यक्ष चौलागाईले थप्नुभयो ।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महान दास लामाले गाउँपालिकाले विपद् व्यवस्थापनका लागि स्थानीय स्तरमै पूर्व तयारीका उपायहरू अघि बढाइरहेको जानकारी दिनुभयो । जोखिम न्यूनीकरण गर्दै जलवायु सहनशील संरचना निर्माण गर्नु गाउँपालिकाको प्राथमिकता रहेको बताउँदै, स्थानीय बासिन्दालाई विपद् न्यूनीकरण तथा पूर्वतयारीका कार्यक्रमहरूसँग जोडेर सचेतना अभिवृद्धि गरिरहेको बताउनुभयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु