२०८१ चैत्र १८, सोमबार | Mon, 31, Mar, 2025

देवरले गरे भाउजुको हत्या, दाइ घाइते


२७०५ पाठक संख्या
  • २०८१ चैत्र १४, बिहिबार मा प्रकाशित ४ दिन अघि
  • १४ चैत, हेटौंडा । हेटौंडामा खुकुरी प्रहारबाट ३५ वर्षीया महिलाको हत्या भएको छ । उनलाई आफ्नै देवरले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    बुधबार राति ९ बजे हेटौंडा उपमहानगरपालिका-१ चौकीटोल घर भएकी गुडिया दास घरको दोस्रो तलामा मृत भेटिएकी थिइन् । साढे २ तले घरको दोस्रो तलामा कोठाभित्र टाउको चोट लागेको अवस्थामा गुडिया मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

    घटनामा उनका कान्छा देवर २३ वर्षीय राहुल भनिने रमेश दास संलग्न रहेको आरोपमा प्रहरीले उनलाई हातमा खुकुरी बोकेकै अवस्थामा पक्राउ गरेको छ ।राहुलले आफ्नो माइलो दाजु २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएकोे डिएसपी अर्यालले जानकारी दिए ।

    घाइते रूपेशको टाउको, दाहिने हात, करङको भागमा चोट लागेको अर्यालले बताए । उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।रूपेश घाइते भएको खबर पाएर दासको घर पुगेको प्रहरीले माथिल्लो तलाम महिला मृत अवस्थामा रहेको थाहा पाएको थियो ।

    मृतक गुडियाको श्रीमान् रोशन दास रोजगारीका लागि कतारमा रहेको प्रहरीले जनाएको छ । गुडिया र रोशनका तीन सन्तान रहेका छन् ।दास परिवारले हेटौंडामा फलफूलको व्यवसाय गर्दै आएको थियो । घटना घरायसी विवादका कारण हुन पुगेको बताइए पनि प्रहरीले स्पष्ट कारण नखुलेको बताएको छ ।

    राहुलले भाउजुको हत्या र दाइ रूपेशमाथि खुकुरी प्रहार गरेको स्वीकार गरेको डिएसपी अर्यालले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु