काभ्रेपलाञ्चोक । पछिल्लो समयमा सार्वजनिक यातायातमा पकेट मार्ने तथा चोरी गर्ने क्रम बढ्दो छ । जसले गर्दा महिलाहरू थप मारमा पर्नेगरेका छन् ।
विगत ५/७ वर्ष अगाडि काभ्रेपलाञ्चोकको बनेपा पनौती ‚ बनेपा हुँदै वि.पि राजमार्ग साथै अरनिको राजमार्गमा सञ्चालन हुने यात्रुवाहक बसहरूमा पकेट मार्ने तथा सुन चोर्ने निकै बिगबिगती थियो । त्यतिमात्रै नभएर सार्वजनिक यातायातबाट ओर्लिएपछि विभिन्न बाहना बनाउदै सघाउने नाउमा बेहोस बनाउने औषधीहरू पेय पदार्थमा मिसाएर खुवाई लुटपाट समेत हुने गरेको थियो ।
घटनाहरू दिनपरदिन दिन बढ्दै जान थालेपछि काभ्रेपलाञ्चोक प्रहरी सक्रियतामा त्यस्ता घटनाहरू निमिट्यान्न भएको थियो । सादा पोसाकका प्रहरीहरूले सार्वजनिक यातायातमा निगरानी राख्ने साथै यात्रुहरू विश्राम गर्ने विस्राम थलमा निगरानी बढाउने कार्यले गर्दा त्यस्ता अमानवीय घटनाहरू केही समयका लागि निमिट्यान्न भएको थियो ।
पछिल्लो समयमा सुनको मूल्य अचाक्ली बढेको छ ‚ महिलाहरूले सामान्य अवस्थामा पनि थोरै भएपनि सुन लगाएका हुन्छन् । विवाह ‚ बर्तमन तथा अन्य विशेष कार्यक्रममा अलि धेरै सुन लगाएका हुन्छन् । थोरै सुनले पनि धेरै पैसा आउने भएकोले महिलाले लगाएको सुनलाई लक्षित गर्दे सार्वजनिक यातायातमा चोरी गर्नेगरेको घटनाहरू पाइएको छ ।
महिलाहरूले कानमा लगाएको मुन्द्री ‚ झुम्का तथा टपहरु लाई निसाना गर्दै चोरी गरेको थाहा भएको छ । कानमा लगाएको सुन चोरी गर्ने क्रममा दुवै कानको नभई एक कानमा लगाएको चोरी भएको पाइएको छ । दुवै चोरी गर्दा चोरीभएको भनी उजुरी गर्लान् तर एक मात्र चोरी हुदा हराएको हो कि भन्ने पर्नसक्छ भन्ने उद्देश्यले चलाखीपूर्ण तरिकाले चोरिएको पाइएको छ ।
यस्तो खाले घटना अरनिको राजमार्गमा हुने गरेको पाइएको छ । घटनाहरूका बारेमा जानकारी लिँदा विशेष गरि धुलिखेल बाट खावा सम्मको यात्रामा चोरीको घटना हुने गरेको पाइएको छ । सडकको अवस्था दयनीय भएकोले यात्रामा असहज भएको मौकामा यस्तो खाले घटनाहरू हुनेगरेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस