हाम्रो परिवार तथा समाजमा घटना घट्छ । सामान हराउँछ । हराएका सामान मूल्यवान् नहुन पनि सक्छन् । तैपनि हराउँछ ।अब हामी आरोप लगाउँछौँ, ‘फलानाकी छोरी घरमा आएकी थिई, फलानाको छोरो आएको थियो । त्यसैले चोरेको हुनपर्छ । त्यसलाई त अब कुनै हालतमा पनि घरभित्र छिराउनु हुँदैन ।’
यति मात्र हैन, हामीले त्यस्ता व्यक्तिको बारेमा एउटा धारणा नै बनाइसकेका हुन्छौँ- फलानो त चोर नै हो ।तर, यसैबीच हामीले एउटा कुरा सोच्न भने बिर्सन्छौँ, आखिर किन ? केका लागि ? घरहरूमा हुने ठूला चोरीमा चोरहरूको उद्देश्य पैसा कमाउनु हुन्छ । तर, पेन्सिल, कापी, चम्चाजस्ता सामान्य वस्तु चोरी गर्दा के फाइदा होला ? नगण्य ।
के यसमा पनि पैसाको भूमिका हुनसक्ला ?
कदापि हुँदैन । यसमा पैसाको कुनै भूमिका हुँदैन ।
चिकित्सा विज्ञानमा एउटा शब्द छ, ‘क्लेप्टोमेनिया’ अर्थात् चोरी गर्ने रोग । यस्तो समस्या भएका मानिसहरू चोरी नगरी रहनै नसक्ने हुन्छन् अर्थात् चोरी गर्न बाध्य हुन्छन् ।
के हो क्लेप्टोमेनिया ?
क्लेप्टोमेनिया भनेको एक किसिमको मनोवैज्ञानिक समस्या हो तर ठूलो मानसिक रोग भने होइन ।
यो रोग लागेका व्यक्तिले पैसाका लागि वा व्यक्तिगत प्रयोजनका लागि नभई आˆनो मनलाई नियन्त्रण गर्न नसक्ने भएका कारण सामान चोर्ने गर्छन् । चोरेका सामान धेरैजसो फाल्ने गर्छन् ।
पैसा नभएर वा सामान चाहिएर होइन, मनलाई नियन्त्रण गर्न नसकेर ।
क्लेप्टोमेनिया भएका व्यक्तिमा एउटा कुरा लिने इच्छा उत्पन्न भएपछि त्यो पूरा नहुन्जेलसम्म उक्त कुरा उसको दिमागमा आइरहन्छ । यो सोचाइलाई उसले नियन्त्रण गर्न तथा रोक्न सक्दैन । यो रोग नै यस्तो हो कि चाहेर पनि उसले आफूलाई नियन्त्रण गर्न सक्दैन । त्यो चीज नपाएसम्म उसलाई निरन्तर तनाव तथा बेचैनी महसुस हुने गर्छ, पाएपछि मात्र ऊ ढुक्क हुने गर्छ ।
बाल्यकालमा सुरु भएको यस्तो समस्याको समयमै उपचार नगरे यसले पछिसम्म दुख दिइरहन्छ । पुरुषको तुलनामा महिलामा बढी हुने यो रोग हजारजना व्यक्तिमध्ये ३० जनालाई हुने गरेको तथ्यांक छ ।
त्यसैले, यस्तो रोगको लक्षण देखिए चिकित्सकहरू तुरुन्तै उपचार गर्न सुझाव दिने गर्दछन् ।
क्लेप्टोमेनियाका लक्षण ?
-आफ्नो मनमा उब्जिएको चोरी गर्न मन लाग्ने आवेग रोक्न नसक्नु
-चोरी गर्नुअघि बेचैनी हुनु वा तनाव उत्पन्न हुनु
-चोरी गर्दा आनन्द, राहत तथा आत्मसन्तुष्टि हुनु
-चोरी गरेपछि पश्चात्ताप हुनु तथा डर लाग्नु
-चोरी गरेको सामान फिर्ता गर्नु वा फ्याँक्नु
क्लेप्टोमेनियाका कारण
क्लेप्टोमनिया हुनुको वास्तविक कारण यही हो भन्ने ठ्याक्कै आधार छैन । यद्यपि इटिङ डिसअर्डर, एन्जाइटी डिसअर्डर, अब्सेसिभ कम्पलसिभ डिसअर्डरजस्ता निश्चित मानसिक समस्याका कारण पनि यस्तो समस्या उत्पन्न हुनसक्छ ।
त्यस्तै मस्तिष्कमा सेरोटोनिन तथा डोपामिन नामक तत्वको गडबडीका कारण पनि मानिस क्लेप्टोमेनिया रोगबाट ग्रसित हुनसक्छ । सेरोटोनिनले मानिसको मुड तथा भावना नियन्त्रित गर्न मद्दत गर्छ । मस्तिष्कमा यस्तो तत्वको कमी भएमा चोर्ने विचार उत्पन्न हुन्छ ।
परिवार वा समाजमा कुनै व्यक्तिलाई यस्तो समस्या भए तुरुन्त चिकित्सककहँा लैजानु पर्छ ।
उपचार विधि
मनोचिकित्सकको परामर्श तथा निश्चित समयसम्म औषधी सेवन गरेर यो रोग सजिलै निको पार्न सकिन्छ ।
विद्यमान परिस्थिति
नेपालमा धेरैलाई क्लेप्टोमेनिया रोगबारे जानकारी छैन । जानकारी नभएकै कारण यस रोगबाट ग्रसित व्यक्तिका परिवारका सदस्यले यसलाई रोगका रूपमा लिएको पाइँदैन । अस्पतालमै पनि यस्ता समस्या लिएर बिरामीहरू आउँदैनन् । कोही विरामी नै छ भने पनि समाजले बरु उक्त विरामीलाई चोरको संज्ञा दिन्छ, तर मनोपरामर्श लिने सुझाव दिँदैन । परिणामस्वरूप समस्या ज्युँ का त्युँ रहन्छ ।
विद्यमान परिस्थितिमा हाम्रो घरपरिवार तथा समाजमा समेत यस रोगबारे जनचेतना जगाउन त आवश्यक छ नै, माथि उल्लेखित कुनै पनि लक्षण देखिए वा महसुस भए तुरुन्तै चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ ।
(वरिष्ठ मनोचिकित्सक, प्रमुख, मानसिक स्वास्थ्य विभाग, त्रि. वि शिक्षण अस्पताल, महाराजगञ्ज)
प्रतिक्रिया दिनुहोस