‘सन्तान नभएकाले उपचारका लागि सपरिवार आएका एकजना ससुराले आप्mनै वीर्यबाट बुहारीलाई गर्भवती बनाइदिन दवाव दिए । उनीहरुले भारतमा पनि धेरै पटक उपचारको प्रयास गरेका रहेछन् । केटाका बुबाले शुरुमै भने, ‘मेरो छोरामा समस्या छ, हामीले मुम्बैमा पनि कोशिस ग¥यौं, सफल भएन, तपाईं उपचार गरिदिनुस् । उनको छोराको परीक्षण गरेर हेर्दा वीर्यमा शुक्रकिट नभएकाले दाताबाट लिएर गर्भाधान गराउनुपर्ने देखियो । बुहारीमा चाहिँ समस्या थिएन । मैले त्यही कुरा राखेँ ।
यस सन्दर्भमा छोरा केही बोलेनन् । बुबा चाहिँले तुरुन्तै भने, हेर्नोस् हामी त यो परिवारको बंश चलाउने कुरा गर्दैछौँ । अरुको लिएर कहाँ हुन्छ ? हाम्रै बंशबाट जानुपर्छ, म ससुरा हुँ, मेरो वीर्य लिएर उपचार गर्नुस् । त्यसपछि उनले पकेटबाट चेकबुक निकालेर भने, ल भन्नुस् कति एमाउन्ट लेखौँ ? चाहे जति रकम लिनुस् र हामीले भनेजस्तो उपचार गरिदिनुस् । मैले भनेँ, हाम्रो संस्थाको उपचार प्रोटोकल अनुसार मात्र गर्न सकिन्छ, तपाईँले भनेजस्तो गर्न सकिन्न ।
त्यसपछि उनले धम्क्याउँदै भने, तपाईँले के सोच्नुभएको छ ? यो संस्था अव टिकिराख्छ ? हामी जस्ताको उपचार गर्न तपार्इँ पछि हटेको ? ..’ मैले धेरै कुरा गर्ने स्थिति थिएन । एकोहोरो कराएर उनीहरु फर्किए ।
यी अनुभवहरु हुन् स्त्री तथा प्रजनन् रोग विशेषज्ञ डा.उमा श्रीवास्तवका ।
डा. उमा भन्नुहुन्छ, ‘नेपाली समाजमा बाँझोपन स्वास्थ्य समस्याका रुपमा मात्र होइन, एउटा ठूलो सामाजिक समस्याका रुपमा देखापरेको छ । सन्तान नहुँदा दम्पतीले पीडा त भोग्नु परेकै छ । त्यसबाहेक पनि सामाजिक आलोचनाको विषय बनिदिँदा थप समस्या झेल्नु परेको हुन्छ । त्यसमा पनि महिलाले बढी समस्या खप्नु परेको छ ।
बच्चा नहुँदा पनि परिवार र समाजमा पुरुषको स्थान उस्तै नै हुन्छ । तर, महिलाले विभिन्न किसिमका समस्याहरु भोग्नु परेको हुन्छ । बच्चा नहुनेहरुलाई ‘बोक्सी हो, तन्त्रमन्त्र गर्ने भएकाले बच्चा नभएको’ भनेर लाञ्छना लगाउने गरेको पीडीत महिलाहरुले सुनाएका छन् । धेरै महिलाहरु हामीकहाँ आएर पीडा सुनाउँदै रुन्छन् । उनीहरुका पीडाका कथा सुनाउँदा मेरै डाक्टर साथीहरु पनि ‘ओ हो यस्तो पनि हुन्छ र ?’ भनेर छक्क पर्छन् ।
तीन दशकभन्दा लामो समयदेखि बाँझोपन र स्त्री रोगको उपचारमा संलग्न डा.श्रीवास्तवले यस्तै अनुभव, बाँझोपनको पीडामा रुमलिएका दम्पतीहरुको कारुणिक कथाहरु र बाँझोपनका उपचारका विधिहरु समेत समेटेर हालै ‘सन्तान सुख’ नामक पुस्तक प्रकाशन गर्नुभएको छ । पुस्तकमा उहाँको प्रेरणादायी जीवन वृतान्त पनि समेटिएको छ । सफलताका लागि मानिसले कतिसम्म दुख, कष्ट र चुनौतीहरुको सामना गर्नुपर्छ भन्ने कुरा उहाँको संक्षिप्त जीवन वृतान्तबाट स्पष्ट हुन्छ । बाँझोपन महिला र पुरुषमा बराबरजस्तै देखिने भएता पनि प्रायः पुरुषहरु परीक्षणका लागि नै नजाने र सम्पूर्ण दोष महिलालाई लगाउने प्रवृत्तिले गर्दा महिलाहरु आत्महत्याको तहसम्म पुगेका कथाहरु उहाँले सो पुस्तकमा समेट्नुभएको छ ।
पुस्तकभित्रको यस्तै एउटा दर्दनाक कथा यस्तो छ
‘नवलपरासीतिरबाट आएको एक दम्पतीको साधारण कारणले बच्चा भएको थिएन । तर सवै दोष बुहारीलाई लगाएर यातना दिए पछि यो कुरा आत्महत्याको तहसम्म पुगेको थियो । यस्तो स्थितिको सिर्जना अर्की महिलाबाटै हुनुचाहिँ अझ दुर्भाग्यपूर्ण थियो । छोरो विदेशमा वस्ने, घरमा बुहारीले बच्चा पाइन भनेर बबाल मच्चाउने, उमाथि थिचोमिचो गर्ने, कस्तो सोच हो हाम्रो समाजको ?
ती महिलाले आफ्नो पीडा सुनाउँदै भनिन्, ‘बच्चा नभएको सवै दोष मलाई लगाएर बाँझी आइमाई भन्दै घृणा गरे । नन्दले विभिन्न बाहानामा कोठमा बोलाएर भुत्ल्याइन्न्, मेरै कारणले उनको दाइको जीवन बर्बाद भएको भन्दै पटकपटक गाली गरिन् । मलाई एक दिन त हिँड्दाहिँड्दै तातोपानी खन्याइदिए । असह्य भएपछि घरको माथिल्लो तलामा चढेर हामफाल्न खोजेँ, त्यो पनि असफल भयो । अहिले मेरो दिमागमा कसरी आत्महत्या गरेर यो दुःखमय जीवनबाट मूक्त हुने भन्ने कुरा मात्र आइरहन्छ ।’
निकै मर्मस्पर्शी पाराले उनले आफ्ना पीडा सुनाइन् । यसले मलाई निकै वेर सोच्न बाध्य बनायो । आफ्ना शारीरिक कारणले भन्दा सामाजिक कारणले उनले गम्भीर पीडा भोग्नुपरेको थियो । उनका पति विदेशमा जागिरे, कहिलेकाहिँ मात्र घर आउने । त्यस्तै मौकामा उनीहरु मकहाँ आएका थिए । उनीहरुको परीक्षण र्गयौँ । उनीहरुमा साधारण समस्या मात्र पाइयो । पतिको शुक्रकिटमा अलि कमी थियो भने पत्नीको चाहिँ एउटा डिम्बबाहिनी नली बन्द ।
यस्तोमा पति,पत्नी सँगै बसेका भए सन्तान हुनसक्थ्यो । तर, एक दुई हप्ता भेट भएका भरमा सन्तान हुने सम्भावना ज्यादै न्यून हुन्छ । छिटो बच्चा पाउनका लागि हामीले साधारण उपचार मात्र गरेका थियौँ, त्यसपछि गर्भ रह्यो सन्तान जन्मियो । एउटा परिवारको बिग्रन लागेको घर बस्यो ।
डा. उमाको अर्को एउटा अनुभव छः
‘रक्सी, चुरोटले अरु रोग लागे पनि सन्तान उत्पादनमा त के असर पर्ला र ? भनेर धेरैले वेवास्ता गरेका हुन्छन् । तर, नुवाकोटका एक दम्पतीको सन्तान नहुनुको एउटा कारण रक्सी चुरोटको अम्मल पनि थियो । पति धुम्रपान, मद्यपानको अम्मली रहेछन्, छोड्नै नसक्ने । परीक्षण गर्दा पतिमा शुक्रकिटको कमी भएको पाइयो । उनले उपचारप्रति त्यति ध्यान दिएनन्, परिवारको कुरा पनि सुन्दा रहेनछन् । अम्मल छोड्ने र उपचार गर्ने कुराप्रति उनले वेवास्ता गरे ।
यसरी मादक पदार्थ सेवन गरेर लट्ठ पर्ने मानिसलाई सन्तानको रहर पनि नहोला । तर, सन्तान नभएका कारण उनकी पत्नी घर परिवारको यातना सहन नसकेर आत्महत्याको स्थितिमा पुगिसकेकी थिइन् । त्यो उनले महसुस नै गर्न सकेका थिएनन् । आफूलाई समाजमा गरिएको दुव्र्यवहार सुनाउँदै पत्नीले सुनाएकी थिइन्न ‘एकपटक आप्mनै सानीआमाको छोरीको विवाहमा निकै रहरका साथ म सिंगारिएर गएकी थिएँ । जन्ती आएका बेला म अगाडि परेँ भनेर सानीआमाले जुरोमा समातेर लछारिन् । ‘यस्तो विवाहको अवसरमा तँ बाँझी आइमाई अगाडि परेर अपसगुन गरिस, तँ अलच्छिनीले गर्दा अब बहिनीको पनि बच्चा हुँदैन’ भनेर गाली गर्दै पछारिन् ।
घरमा सासू लगायतले दिने यातना त छँदै थियो, माइतीमा पनि यस्तो अपमान र यातना पाएपछि मैले खप्न सकिनँ । सिधै त्रिशुलीतिर हामफाल्न गएँ । त्यहीँको भाइले देखेछ र हामफाल्नबाट रोक्यो । तर, यस्तो अवस्थामा बच्चा नभई कसरी बाँच्न सकिन्छ र ? पछि कसैले सल्लाह दिए पछित्यो दम्पती परामर्शका लागि आएको थियो ।
पत्नीपीडीत पुरुष
सामान्यतया सन्तान नभएका कारण अधिकांशरुपमा महिला नै सताइएका हुन्छन् । तर, कहिलेकाहीँ चाहिँ पुरुषहरु सताइएका घटना पनि भेटिने गर्छन् । सन्तान नभएर उपचारका लागि आएको यस्तै एउटा जोडीको पत्नी भन्थिन, ‘डा. साव मेरो समस्या छैन, उहाँकै समस्या छ, उहाँको उपचार नभई मेरो बच्चा नै हुँदैन, मेरो त जीवन नै गयो ।’
उपचार शुरु गरे पनि उनी कहिले पूजा छ, कहिले पार्टी छ भनेर प्रायः आउँदैनथिइन् । पार्टी, पारिवारिक भेटघाटमा पतिलाई सकेसम्म लान नखोज्ने, गइहाले पनि अपमानित गर्दिरहिछन् । एक दिन एक्लै आएर उनका पतिले मलाई आप्mनो पीडा सुनाउँदै अति नमिठोसँग रोए । आफूलाई पत्नीले पटक,पटक बेइज्जत गरेका घटनाहरु सुनाए । पटकपटक अपमानित हुनु परेपछि एकदिन उनले विष सेवन गरेर आत्महत्या गर्ने प्रयास पनि गरेछन् । त्यो पनि असफल भएपछि अव चाहिँ डिभोर्स नै गर्छु, अपमान सहन सकिनँ भनेर सुनाएका थिए । त्यसपछि उनी आएनन् ।
बाँझोपनको कारण
सामान्यतया उमेर पुगेका दम्पतीले सन्तान जन्माउने प्रयास गर्दा पनि विकासोन्मुख देशमा दुई वर्ष्भित्रमा र विकसित देशमा एक वर्ष्भित्रमा बच्चा भएनन् भने बाँझोपन भएको मान्नुपर्ने विश्व स्वास्थ्य संघको मान्यता रहेको छ । बाँझोपनको उपचारमा संलग्न हर्मोन विशेषज्ञ डा उमा श्रीवास्तव भन्नुहुन्छ, ‘महिलामा बाँझोपन हुनुका मुख्य कारणहरुमा हर्मोनल कारणले डिम्ब विकास नहुनु वा डिम्बको संख्यामा कमी आउनु नै हो ।
त्यस्तै पाठेघरमा गाँठागुँठी हुनु, ट्युमर हुनु, डिम्बासयमा सिस्ट पैदा हुने फोके रोग प्रमुख कारण हुन् । ‘मकहाँ आउने निसन्तान सम्बन्धी केसमा ४० प्रतिशत जति डिम्बासयको फोकेरोगका नै छन् । विभिन्न प्रजनन अंगमा रगत टाँसिने समस्या, डिम्बबाहिनी नली बन्द हुने समस्या, संक्रमण आदि पनि बाँझोपनका प्रमुख कारण हुन् ।’ डा. श्रीवास्तव भन्छिन्,( ‘पाठेघरको मुख सानो हुने र शुक्रकिटभित्र पुग्न नसक्ने समस्या, हर्मोनहरुको कोअर्डिनेसन नमिल्ने अवस्था र मानसिक समस्या पनि बाँझोपनको कारक हुन् । पाठेघरको मुखमा घाउ हुने तथा बढी रक्तश्राव भएर पनि बाँझोपन हुनसक्छ ।’
यस्तै पुरुषमा बाँझोपन आउनुका मुख्य कारणबारे डा उमा भन्छिन्, ‘हर्मोनल कारणले शुक्रकिट कम उत्पादन हुनु र कुनै कारणवस शुक्रबाहिनी नली बन्द हुने समस्या आउनु पुरुष बाँझोपनको मुख्य कारण हो ।’ आफूकहाँ उपचार गर्न आएका पुरुषमध्ये ६० प्रतिशतजतिमा शुक्रकीटको कमी भएको डा. श्रीवास्तवको भनाइ छ । उनका अनुसार उपचारबाट यसलाई बृद्धि गर्न पनि सकिन्छ । तर ४० प्रतिशतमा भने शुक्रकिट नै उत्पादन नहुने समस्या हुन्छ ।
लागु पदार्थ, मादक पदार्थ सेवनले पनि सन्तान उत्पादन कार्यमा समस्या हुने चिकित्सकको भनाइ छ । ‘बाँझोपनको कारण बंशानुगत पनि हुन्छ । वंशानुगत रोग पूर्खा तथा बाबु आमाबाट सर्दै आएको हुन्छ । तर, यो समस्या सवै सन्तानमा देखिन्छ भन्ने हुँदैन ।’ डा. श्रीवास्तव भन्छिन्, ‘आमालाई बंशानुगत समस्या छ भने सवै छोरीलाई वा कुनै एक छोरीलाई रोग देखिन सक्छ । त्यस्तै बाबुको समस्या पनि कुनै एक छोरा वा सवै छोरामा देखिने हुनसक्छ ।’
श्रीवास्तवका अनुसार बाँझोपनको एउटा प्रमुख कारण मोटोपन पनि हो, तर प्रायः मानिसहरु प्रजनन् सम्बन्धी समस्यालाई मोटोपनसँग जोडेर हेर्दैनन् । अहिले महिलाहरुको मोटोपन बाँझोपन बृद्धि गर्ने एउटा कारक तत्वको रुपमा देखिएको छ ।’ यसबाहेक व्यवसायका कारण दम्पतीहरु लामो समय सँगै बस्न नपाएकाले पनि बाँझोपन आउने गरेको डा. श्रीवास्तवको भनाइ छ ।
‘मानिसहरुको व्यस्तताले आउने बाँझोपन अहिले समस्याको रुपमा देखिन थालेको छ ।’ उनी भन्छिन्, ‘डाक्टर, नर्स, ब्यापारी, सुरक्षा निकायमा काम गर्नेहरु अनि रोजगारी वा अध्ययनका कारण विदेश जानु पर्नेहरुमा यस्तो समस्या धेरै देखिएको छ ।’
डा. श्रीवास्तवका अनुसार केही समयसँगै बस्दैमा बच्चा हुन्छ भन्ने छैन । केही महिना सँगै बस्नुपर्ने हुन सक्छ । त्यसमा पनि उमेर बढी हुँदै गएमा र सानोतिनो स्वास्थ्य समस्या देखिएमा छोटो भेटघाटमा गर्भ रहने सम्भावना न्युन हुन्छ । उनीहरुलाई एक किसिमको डेटिङ ट्रिटमेन्ट गर्नुपर्ने हुन्छ ।
बाँझोपनको उपचार
बाँझोपनको उपचार कत्तिको सम्भव छ त ? डा. उमा भन्छिन्, ‘बाँझोपनको उपचारका लागि प्रयास गर्ने मध्ये हाम्रो अनुभवमा २५ प्रतिशतलाई त परामर्शबाट नै गर्भ रहन्छ । यसैकारण साइको थेरापीमा झारफुकेहरु, धामीझाँक्रीहरु पनि त्यही अनुपातमा सफल देखिएका छन् । केहीलाई सामान्य उपचार र परामर्शबाट सन्तान प्राप्त हुन्छ भने केहीलाई जटिल किसिमको उपचार गर्नुपर्ने हुन सक्छ । तर उपचारमा आउने सबैलाई सन्तान प्राप्त हुन चाहिँ सक्तैन ।
केहीलाई प्राविधिक कारणले उपचार नै हुन नसक्ने स्थिति पनि आउन सक्ने बताउँदै डा श्रीवास्तव भन्छिन,( ‘कुनै महिलाको पाठेघरले काम गर्न सक्ने स्थिति छैन वा कुनै रोगका कारणले निकालिएको छ भने उनबाट बच्चा जन्माउन सकिन्न ।’
डा. उमाका अनुसार बाँझोपनको उपचारमा धेरै सफलता नहुनुको मुख्य कारण उपचारलाई निरन्तरता दिन नसक्नु नै हो । बाँझोपनको उपचारमा छिटो सफलता प्राप्त हुँदैन, लामो समय लाग्न सक्छ । चिकित्सकको अनुभवमा विभिन्न कारणले गर्दा दम्पतीले उपचारमा पूरा समय दिन सक्तैनन् ।
कसैकसैले त उपचारभन्दा अर्को बिहे गर्नु सस्तो हो भनेर त्यतातिर लाग्छन् । कोही आर्थिक अवस्थाका कारण उपचार नियमित गर्न सक्तैनन् । यसरी सामाजिक र पारिवारिक कारणले उपचार बीचमै छोड्नेहरु पनि छन् ।
डा. श्रीवास्तवका अनुसार झण्डै ४० प्रतिशतले त उपचार बीचमा नै छोडिदिन्छन् । ६० प्रतिशत जतिले मात्रै उपचारको प्रयास गर्छन् । विरामीले औषधि पूरा नखाने, निर्देशन नमान्ने प्रवृत्ति समस्याका रुपमा देखिने गरेको छ । अनलाईन खबर===
प्रतिक्रिया दिनुहोस