वैदिक विधिअनुसार विवाह गर्न चाहनेका लागि विसं २०७७ मा जम्मा १८ वटा मात्र लग्न निस्किएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । वर्षको पहिलो महिना वैशाखमा सबैभन्दा बढी अर्थात् सातवटा लग्न निस्किएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । वैशाखको १३, १४, १९, २०, २२, २३ र २५ गते लग्न जुरेको समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा पनि उल्लेख छ ।
यस वर्ष जेठ १७ गते शनिबार पश्चिममा शुक्र अस्त भई २६ गते सोमबार पूर्वमा उदय हुन्छ । यसैगरी माघ ४ गते आइतबार बृहस्पति पश्चिममा अस्त भई फागुन २ गते आइतबार नै पूर्वमा उदाउने छ । माघ ३० गते शुक्रबार शुक्र पूर्वमा अस्त भएपछि विसं २०७८ लागेपछि मात्र उदाउने भएकाले यस वर्ष माघ र फागुनमा विवाह एवं व्रतबन्धका साइत ननिस्किएको समितिले जनाएको छ । यसैकारण चैतमा व्रतबन्धको साइत पनि छैन ।
विगत वर्षमा माघ र फागुनमा समेत विवाहको मुहूर्त हुन्थ्यो । महिनाका हिसाबले माघ र फागुन विवाह गर्न हुने नै महिना हुन् । गत वर्ष विसं २०७६ मा भने विवाहका ६६ लग्न थिए ।
व्रतबन्धका चार मुहूर्त
यसैगरी यस वर्ष व्रतबन्धको मुहूर्त पनि चार वटा मात्र छ । वैशाख २१ र २२ गते, जेठ १२ एवं असार ११ गतेमा मात्र व्रतबन्धको लग्न जुरेको समितिका सदस्य सचिव एवं पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए । गत वर्ष भने व्रतबन्धका साइत १२ वटा थिए । गत वर्षहरुमा माघ, फागुन र चैतमा पनि व्रतबन्धका मुहूर्त दिइएको हुन्थ्यो ।
वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया, आश्विन शुक्ल पक्षको नवरात्र, मार्गशीर्ष पञ्चमी अर्थात् विवाह पञ्चमी र माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमीका दिन साइत नभए पनि विवाह गर्न हुने भन्ने धारणा शास्त्रीय नरहेको पञ्चाङ्गकार सूर्यनाथ पन्तले बताउनुभयो । यी दिनमा पनि विवाह, व्रतबन्धजस्ता शुभकर्मको साइत जुर्ने भए पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिने गरेको जानकारी पनि उनले दिए ।
प्रतिक्रिया दिनुहोस