काठमाडौं, १३ मंसिर । नेपाल शिक्षक महासंघले सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। शिक्षक तथा विद्यालय कर्मचारीका समस्या समाधानमा सरकारले संवेदनशीलता नदेखाएको आरोप लगाउँदै महासंघले माग सम्बोधन नभए कडा र निर्णायक आन्दोलन गर्ने जनाएको हो।
महासंघले आइतबार विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले शिक्षक–कर्मचारीका पीरमर्काप्रति बेवास्ता गरेको आरोप लगाएको छ। सहमति कार्यान्वयनमा ढिलाइ भइरहेकाले आन्दोलनको विकल्प नरहने महासंघको भनाइ छ।
गत भदौमै आन्दोलनको तयारी गरेको महासंघ रसुवाको बाढी विपद् तथा नेतृत्व परिवर्तनका कारण पछि हटेको थियो। महासंघको अध्यक्षमा सुन्दर पन्त चयन भएपछि आन्दोलन रोकिएको भए पनि सरकारले विगतका सहमति कार्यान्वयन नगरेको भन्दै पुनः आन्दोलनको तयारी अघि बढाएको हो।
अध्यक्ष पन्तले पछिल्लो पटक सरकारसँग भएको नौबुँदे सहमतिमा शिक्षकका अधिकांश माग समेटिए पनि कार्यान्वयन नभएको बताए। महासंघले चालु महिनाको अन्तिमसम्म सरकारको कदम पर्खिने र त्यसपछि आन्दोलनबारे निर्णय गर्ने जनाएको छ।
२०८२ वैशाख १७ गते मन्त्रिपरिषद्ले शिक्षकका माग सम्बोधन गर्न नौबुँदे सहमति स्वीकृत गरेको थियो। मन्त्रिपरिषद्बाट सहमति स्वीकृत भएपछि शिक्षकहरूले २९ दिनसम्म काठमाडौं केन्द्रित आन्दोलन स्थगित गरेका थिए। तर सहमतिअनुसारका माग कार्यान्वयन नभएको भन्दै महासंघ असन्तुष्ट बनेको छ।
महासंघले अहिले सातबुँदे माग अघि सारेको छ। तीमध्ये शिक्षकहरूको निवृत्तिभरण व्यवस्था, दुर्गम भत्ता, विद्यालय कर्मचारी तथा बालविकास सहजकर्ताको सेवा–सुविधा र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने विषय प्रमुख छन्।
२०७५ सालपछि नियुक्त शिक्षकहरू निवृत्तिभरण सुविधाबाट वञ्चित हुने अवस्था सिर्जना भएको भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ। नयाँ विद्यालय शिक्षा ऐन जारी भएको मितिलाई आधार मानी त्यसअघि स्थायी नियुक्ति भएका सबै शिक्षकलाई पुरानै प्रणालीअनुसार निवृत्तिभरण उपलब्ध गराउनुपर्ने माग गरिएको छ।
त्यसैगरी, नयाँ शिक्षा ऐन जारी भएपछि स्थायी नियुक्ति हुने शिक्षक तथा कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागू हुने व्यवस्था गर्नुपर्ने र सोहीअनुसार निवृत्तिभरण ऐन संशोधन गर्नुपर्ने महासंघको माग छ।
अस्थायी सेवाबाट आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी भएका शिक्षकहरूको निवृत्तिभरण प्रयोजनका लागि सेवा अवधि नपुगेको अवस्थामा अस्थायी सेवाको अवधि जोडेर निवृत्तिभरण उपलब्ध गराउनुपर्ने पनि महासंघले जनाएको छ।
दुर्गम क्षेत्रमा कार्यरत शिक्षकहरूले विगतमा पाउँदै आएको दुर्गम स्थानीय भत्ता कार्यक्रम कार्यान्वयन पुस्तिकामा समावेश नभएको आधारमा हटाइएको भन्दै महासंघले आपत्ति जनाएको छ।
महालेखा परीक्षकको कार्यालयले उक्त भत्तालाई बेरुजु देखाएपछि शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहबाट शिक्षकहरूलाई रकम फिर्ता गर्न पत्राचार गरिएको महासंघको भनाइ छ। विगतमा कानुन तथा व्यवस्थाअनुसार प्राप्त भत्ता फिर्ता गराउनु न्यायसंगत नभएको भन्दै सबै शिक्षकलाई दुर्गम स्थानीय भत्ता उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
विद्यालय कर्मचारी तथा प्रारम्भिक बालविकास (ईसीडी) शिक्षकका लागि स्थायी दरबन्दी सिर्जना गरी पदअनुसार तलबभत्ता सरकारले उपलब्ध गराउनुपर्ने महासंघको माग छ। यसका लागि शिक्षा ऐनको मस्यौदा तत्काल तयार गर्नुपर्नेमा जोड दिँदै महासंघले विद्यालय, विद्यार्थी, शिक्षक तथा कर्मचारीमैत्री अग्रगामी शिक्षा ऐन अविलम्ब जारी गर्न आग्रह गरेको छ।
विद्यालय शिक्षा विधेयक तयार गर्दा शिक्षक महासंघसँग संस्थागत सहकार्य र संवाद गर्नुपर्ने तथा विगतमा भएका सबै सहमति समेटिनुपर्ने अध्यक्ष पन्तले बताएका छन्।
अघिल्लो संसद्मा विद्यालय शिक्षा विधेयक शिक्षा समितिबाट पारित भएर संसद्मा पुगेको थियो। तर जेनजी आन्दोलनका कारण संसद् विघटन भएपछि विधेयक पारित हुन सकेन र प्रक्रिया पुनः शून्यबाट सुरु भएको थियो।
हाल शिक्षा मन्त्रालयले विद्यालय शिक्षा ऐनको मस्यौदा तयार गरिरहेको छ। शिक्षामन्त्री सस्मित पोखरेलका सल्लाहकार शैलेन्द्र झाको अध्यक्षतामा समिति गठन गरी विधेयक लेखनको काम अघि बढाइएको छ। मन्त्रालयले प्रधानाध्यापक संघको सहजीकरणमा सातै प्रदेशबाट सुझाव संकलन गरेको थियो। उक्त सुझावसहितको प्रतिवेदन शिक्षामन्त्रीलाई बुझाइसकिएको छ।
समितिका संयोजक झाले फागुनसम्म विधेयक संसद्मा लैजाने तयारीअनुसार मस्यौदा लेखन भइरहेको र शिक्षक महासंघसँग पनि छलफल गरिएको बताए। मन्त्रालयले शिक्षक महासंघलाई उपेक्षा नगरेको भन्दै सकारात्मक संवादबाट समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ। यद्यपि, महासंघको भूमिकामाथि प्रश्न उठाउँदै उनले दोहोरो चरित्र देखिएको टिप्पणीसमेत गरेका छन्।
महासंघले तेस्रो राष्ट्रिय परिषद्बाट पारित गरी सरकारसमक्ष पेस गरेको ५४ सूत्रीय मागसमेत सुनुवाइ नभएको गुनासो गरेको छ। तीन महिनाभन्दा बढी समय बितिसक्दा पनि महासंघको विधान स्वीकृत नभएको, शिक्षा नियमावली जारी नभएको र शिक्षा ऐन निर्माणमा ढिलाइ भएको अध्यक्ष पन्तले बताएका छन्। मन्त्रालयले भने नियमावली प्रक्रियामा रहेको र छिट्टै जारी हुने जनाएको छ।
शिक्षक महासंघले २०७५, २०७८, २०८० तथा २०८१/०८२ मा विभिन्न चरणमा सडक आन्दोलन गरेको थियो। आन्दोलनपछि सरकारसँग पटक–पटक सहमति भए पनि कार्यान्वयन नभएको भन्दै महासंघ पुनः आन्दोलनको तयारीमा जुटेको हो।
यता शिक्षा मन्त्रालयले भने वार्ता र सहकार्यबाटै शिक्षकका माग सम्बोधन गर्ने जनाएको छ। मन्त्रालयका सल्लाहकार झाले सरकार र महासंघबीच छलफल भइरहेको अवस्थामा तत्काल आन्दोलन आवश्यक नरहेको र सहकार्यबाटै अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस