२०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

बर्ड फ्लु जोखिमविरुद्ध पाँचखालको तयारी : १० लाखमा ल्याब, किसानका लागि राहत कोष


३४३३ पाठक संख्या
  • २०८३ अषाढ १३, शनिबार मा प्रकाशित १६ घण्टा अघि
  • पाँचखाल, असार १२ । छिमेकी स्थानीय तहहरूमा बर्ड फ्लुको संक्रमण फैलिन थालेपछि पाँचखाल नगरपालिकाले सम्भावित जोखिम न्यूनीकरणका लागि सक्रियता बढाएको छ।

    नगरपालिकाले सरोकारवालाहरू, कृषक तथा पोल्ट्री व्यवसायीहरूबीच बृहत् अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै संक्रमण रोकथामका लागि स्थानीय स्तरमै परीक्षण प्रयोगशाला स्थापना गर्ने र ‘पशुधन राहत कोष’ सञ्चालनमा ल्याउने घोषणा गरेको छ।

    नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाको अध्यक्षता तथा कार्यबाहक नगरप्रमुख सूर्यमाया दनुवारको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमको सञ्चालन पशुसेवा शाखाका प्राविधिक सुरेश वडालले गर्नुभएको थियो।

    स्थानीय स्तरमै रोग परीक्षणको व्यवस्था

    कार्यक्रममा कृषक तथा व्यवसायीहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै नगर प्रवक्ता तथा वडा नं. ८ का अध्यक्ष संजय तामाङले बर्ड फ्लु लगायत पशु–पन्छीमा देखिने संक्रामक रोगहरूको तत्काल परीक्षणका लागि यसै आर्थिक वर्षभित्र करिब १० लाख रुपैयाँ लागतमा स्थानीय प्रयोगशाला स्थापना गरिने जानकारी दिनुभयो।

    उहाँका अनुसार हाल प्रयोगविहीन अवस्थामा रहेका विद्यालय भवनलाई उपयोग गर्दै प्रयोगशाला सञ्चालन गर्ने तयारी नगरपालिकाले अघि बढाइसकेको छ। यसबाट नमुना परीक्षणका लागि बाहिर पठाउनुपर्ने बाध्यता हट्ने र रोग पहिचानमा सहजता आउने अपेक्षा गरिएको छ।

    किसानलाई राहत दिन ‘पशुधन राहत कोष’

    कार्यक्रममा बोल्दै कार्यबाहक नगरप्रमुख सूर्यमाया दनुवारले महामारी, रोग संक्रमण वा वन्यजन्तुका कारण पशुधनमा क्षति पुगेका कृषकलाई आर्थिक राहत उपलब्ध गराउन नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘पशुधन राहत कोष’ स्थापना गर्ने व्यवस्था गरेको बताउनुभयो।

    “किसानको ठूलो लगानी सुरक्षित गर्नु स्थानीय सरकारको दायित्व हो,” उहाँले भन्नुभयो, “कुनै पनि विपद्का कारण कृषकको पशुधन नष्ट भएमा राहत उपलब्ध गराउने गरी बजेट विनियोजनको तयारी गरिएको छ।”

    स्वस्थ प्रमाणित कुखुरा र अण्डा निर्धक्क उपभोग गर्न आग्रह

    कार्यक्रममा जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा. बज्रकिशोर ठाकुर र पाँचखाल नगरपालिका पशुसेवा शाखा प्रमुख डा. सुधिर गुप्ताले बर्ड फ्लुको वर्तमान अवस्था, संक्रमणका लक्षण तथा रोकथामका उपायबारे प्रस्तुतीकरण गर्नुभएको थियो।

    उहाँहरूले स्क्रिनिङ परीक्षणबाट स्वस्थ प्रमाणित भएका कुखुरा तथा चल्ला मात्रै बिक्री–वितरण गर्न पाइने र त्यस्ता उत्पादनको उपभोग गर्दा कुनै जोखिम नहुने स्पष्ट पार्नुभयो। पर्याप्त तापक्रममा पकाएर मासु तथा अण्डा सेवन गर्दा भाइरस नष्ट हुने भएकाले अनावश्यक त्रास फैलाउन नहुने उहाँहरूको भनाइ थियो।

    प्राविधिकहरूले सरकारले बर्ड फ्लु तथा प्राकृतिक विपद्बाट प्रभावित कृषकका लागि ७५ देखि ९० प्रतिशतसम्म बिमा तथा राहतको व्यवस्था गरेको जानकारी दिँदै वास्तविक बजार मूल्यअनुसार क्षतिपूर्ति सुनिश्चित गर्न जिल्ला दररेट परिमार्जनको पहल भइरहेको समेत बताए।

    जैविक सुरक्षामा कडाइ, नाकामा निगरानी बढाइने

    नगरपालिकाका आर्थिक विकास संयोजक तथा वडा नं. ४ का अध्यक्ष सुन्दर तामाङले पोल्ट्री फार्ममा जैविक सुरक्षा मापदण्डको कडाइका साथ पालना गर्न कृषकलाई आग्रह गर्नुभयो।

    फार्म प्रवेश गर्दा छुट्टै जुत्ता–कपडा प्रयोग गर्ने, गेटमा निसंक्रमणका लागि पोटासयुक्त पानी राख्ने तथा खुला स्रोतको पानी प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्ने उहाँले बताउनुभयो।

    साथै, सिन्धुपाल्चोकलगायत संक्रमित क्षेत्रबाट रातको समयमा हुने अवैध कुखुरा तथा चल्ला ओसारपसार रोक्न प्रहरीसँग समन्वय गरी विभिन्न नाकाहरूमा निगरानी र चेकजाँच कडा पारिने जानकारी दिइयो।

    नगरस्तरीय पोल्ट्री व्यवसायी सञ्जाल गठन गरिने

    कार्यक्रमको समापन गर्दै प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले पाँचखाल कृषि तथा पशुपालनमा आधारित नगरपालिका भएकाले किसानको हितलाई प्राथमिकतामा राखेर काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    उहाँले नगरभित्र रहेका पशु चिकित्सकमार्फत कृषकले घरमै निःशुल्क प्राविधिक सेवा लिन सक्ने जानकारी दिँदै अनावश्यक रूपमा निजी क्लिनिकमा खर्च नगर्न आग्रह गर्नुभयो। साथै, पोल्ट्री व्यवसायलाई व्यवस्थित र सुदृढ बनाउन उद्योग वाणिज्य संघसँगको सहकार्यमा नगरस्तरीय पोल्ट्री व्यवसायी सञ्जाल गठन गरिने घोषणा गर्नुभयो।

    कार्यक्रममा वडा नं. ३, ४, ६ र ८ का वडा अध्यक्षहरू, विभिन्न शाखाका प्रमुखहरू, पशु प्राविधिक, पोल्ट्री व्यवसायी तथा कृषकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार