२०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

विकास योजनाको अनुगमनमै अन्तिम यात्रा : उपप्रमुखको दुर्घटनामा निधन


२०८१ पाठक संख्या
  • २०८३ अषाढ १३, शनिबार मा प्रकाशित ३ घण्टा अघि
  • बुटवल, १३ असार । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको जिप दुर्घटनामा परी निधन भएको छ। नगरपालिकाको योजना अनुगमनका क्रममा आफैंले चलाएको गाडी दुर्घटनामा परेपछि उनको ज्यान गएको हो।

    स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु प्र ०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको बोलेरो पिकअप जिप शनिबार साँझ करिब पौने ५ बजे स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्ला क्षेत्रमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।

    प्रहरीका अनुसार ५० वर्षीय राना मगरले आफैं चलाइरहेको जिप सडकबाट करिब ६ सय मिटर तल खसेको थियो। दुर्घटनाका बेला उनी गाडीमा एक्लै सवार रहेका थिए।

    नगरपालिकाका अनुसार उपप्रमुख राना विभिन्न विकास योजनाको स्थलगत अनुगमनका लागि निस्किएका थिए। प्रारम्भिक अनुगमनपछि कर्मचारीहरूलाई छुट्टाएर थप एक योजना निरीक्षण गरी घर फर्किने क्रममा उनी एक्लै गाडी लिएर अघि बढेका थिए।

    स्वर्गद्वारी नगरपालिका–२ का वडाध्यक्ष गिरबहादुर गुरुङका अनुसार दुर्घटनापछि जिपले च्यापिएर रानाको घटनास्थलमै मृत्यु भएको थियो। जंगल क्षेत्रमा पशुचौपाया चराइरहेका गोठालाहरूले दुर्घटना देखेपछि प्रहरीलाई खबर गरेका थिए।

    सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले रानालाई गाडीले च्यापिएको तथा अचेत अवस्थामा फेला पारेको थियो। तर उनको घटनास्थलमै मृत्यु भइसकेको पुष्टि भएको प्रहरीले जनाएको छ।

    दुर्घटनाको यकिन कारण भने अझै खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    दिवंगत राना राष्ट्रिय जनमोर्चाबाट निर्वाचित उपप्रमुख थिए। उनको असामयिक निधनले स्वर्गद्वारी नगरपालिका, स्थानीय राजनीतिक वृत्त तथा सर्वसाधारणमा शोकको वातावरण छाएको छ। स्थानीय जनप्रतिनिधि, राजनीतिक दल तथा नागरिक समाजका अगुवाहरूले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार