विराटनगर, १२ असार । नेपाली कांग्रेसका युवा नेता अभिषेक गिरीको विराटनगरस्थित निवासमा प्रहरीले छापा मारेको छ। शङ्कास्पद वस्तु रहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शुक्रबार विराटनगर–८ मधुमारामा रहेको गिरीको घरमा खानतलासी गरेको हो।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार प्राप्त सूचनाको आधारमा प्रहरी टोली परिचालन गरी घरमा खोजतलास सुरु गरिएको हो।
‘हामीलाई उक्त घरमा शङ्कास्पद वस्तु रहेको विशेष सूचना प्राप्त भएको थियो। सोही आधारमा प्रहरी टोली खटिएर खानतलासी गरिरहेको छ,’ एसपी कटुवालले बताउनुभयो।
यद्यपि, प्रहरीले शङ्कास्पद वस्तु के हो भन्ने विषयमा विस्तृत जानकारी सार्वजनिक गरेको छैन। अनुसन्धान प्रभावित हुन सक्ने भन्दै प्रहरीले यसबारे थप विवरण खुलाएको छैन।
प्रहरी टोलीले गिरीको निवास परिसरमा पार्किङ गरेर राखिएका सेतो र कालो रङका दुईवटा कारको समेत सूक्ष्म रूपमा खानतलासी गरेको छ। ती दुवै सवारी साधन गिरीले प्रयोग गर्दै आएको स्रोतले जनाएको छ।
घटनापछि उक्त क्षेत्रमा स्थानीयवासीको चासो बढेको छ भने प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ। खानतलासीका क्रममा कुनै आपत्तिजनक वस्तु फेला परे वा नपरेको विषयमा भने आधिकारिक जानकारी आउन बाँकी छ।
प्रहरीको यो कदमले राजनीतिक वृत्तमा समेत चर्चा सिर्जना गरेको छ। अनुसन्धानको निष्कर्ष सार्वजनिक भएपछि मात्र घटनाको वास्तविकता खुल्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया दिनुहोस