२०८३ अषाढ ८, सोमबार | Mon, 22, Jun, 2026

दुई टिपरको बीचमा च्यापिएर पाँचखालको युवाको मृत्यु


१३०१ पाठक संख्या
  • २०८३ अषाढ ८, सोमबार मा प्रकाशित ७ घण्टा अघि
  • काभ्रेपलाञ्चोक, असार ७ – काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ ठुलीबेँसीस्थित वेतेनी बगरमा शनिबार राति भएको दुर्घटनामा एक जना युवाको ज्यान गएको छ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार राति करिब १० बजे बालुवा लोड गरी बा ४ ख ९८२५ नम्बरको टिपर ब्याक गर्ने क्रममा सोही स्थानमा रोकिराखिएको बा ४ ख ९९०९ नम्बरको टिपर र ब्याक गरिरहेको टिपरको बीचमा च्यापिँदा जेसीबीका सहचालक १९ वर्षीय देबेन्द्र तामाङको घटनास्थलमै मृत्यु भएको हो।

    पाँचखाल नगरपालिका–८ होक्से स्थायी घर भई हाल पाँचखाल–४ तामाघाट बस्दै आएका देबेन्द्र तामाङ उक्त स्थानमा सञ्चालन भइरहेको बालुवा उत्खनन तथा ढुवानी कार्यमा संलग्न थिए। दुर्घटनाका बेला उनी दुई टिपरको बीचमा परेका थिए।

    घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी हिगुवापाटी, दोलालघाट र पाँचखालबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकसहितको टोली समेत खटिएको प्रहरीले जनाएको छ।

    दुर्घटनाका क्रममा दुवै टिपरका झ्याल तथा ढोकाका सिसा फुटेर क्षति पुगेको छ। दुर्घटनामा संलग्न दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ।

    टिपर चालक ललितपुरको गोदावरी नगरपालिका–६ निवासी ३९ वर्षीय दीपक सत्याललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार