२०८३ अषाढ ८, सोमबार | Mon, 22, Jun, 2026

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ


८३३ पाठक संख्या
  • २०८३ अषाढ ८, सोमबार मा प्रकाशित १ घण्टा अघि
  • काठमाडौं, असार ८ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको छ। उनलाई सोमबार सुर्खेतबाट नियन्त्रणमा लिइएको हो।

    सम्पत्ति शुद्धीकरण विभागको टोलीले पक्राउ गर्नुअघि ललितपुरको भैंसेपाटीस्थित पौडेलको निवासमा छापा मारेको स्रोतले जनाएको छ। छापामार कारबाहीका क्रममा प्रहरीले केही महत्वपूर्ण कागजातसमेत नियन्त्रणमा लिएको बताइएको छ।

    विभाग निकट उच्च स्रोतका अनुसार पौडेलको सेयर कारोबार तथा सम्पत्तिको स्रोतबारे उठेका शंकाका आधारमा अनुसन्धान अघि बढाइएको हो। सोही अनुसन्धानको सिलसिलामा उनलाई पक्राउ गरिएको जनाइएको छ।

    पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो। उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ। हवाइ वा स्थलमार्गमध्ये उपयुक्त माध्यमबाट काठमाडौं ल्याइने बताइएको छ।

    यता नेकपा एमालेले देशभर पार्टी पुनर्गठन सम्बन्धी सुझाव संकलन अभियान सञ्चालन गरिरहेका बेला पार्टीका वरिष्ठ नेतामाथि भएको पक्राउले राजनीतिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ।

    घटनाबारे सम्पत्ति शुद्धीकरण विभाग र प्रहरी प्रशासनबाट औपचारिक विवरण सार्वजनिक हुन बाँकी रहेको छ। अनुसन्धान प्रक्रिया जारी रहेकाले थप तथ्यहरू क्रमशः सार्वजनिक हुने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार